सुदूरपश्चिम प्रदेशसभा

मुख्यमन्त्रीले विश्वासकाे मत पाउने वातावरण नबनेपछि प्रदेशसभा बैठक अनिश्चित

फाइल तस्बिर।

धनगढी – बुधबार बस्ने भनिएकाे सुदूरपश्चिम प्रदेशसभाकाे बैठक अनिश्चित समयका लागि स्थगित गरिएकाे छ।

आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरिएको हो।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए।

उनले प्रदेशसभा सञ्चालनका लागि कार्यसूचि नभएकाले स्थगित गरिएको बताएका छन्। खासगरी आजकाे बैठकमा मुख्यमन्त्रीले विश्वासकाे मत लिने सत्तापक्षकाे तयारी थियाे तर निर्णायक रहेकाे नागरिक उन्मुक्ति पार्टीसँग सहमती नभएपछि बैठक स्थगित गरिएकाे प्रतिपक्षी दल कांग्रेसकाे आराेप छ।

सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल झण्डै एक सातादेखि आफ्नाे पक्षमा विश्वासकाे मत दिने वातावरण बनाउन काठमाडाैँ रहेका छन्।

एमाले संसदीय दलको नेता रहेका रावल मुख्यमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत माग्न काठमाडाैँ गएका हुन्।

प्रदेशसभाबाट उनले विश्वासको लिएका छैनन्। प्रदेश सरकारमा सहभागी दलहरूका बिचमा समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी थियो।

नागरिक उन्मुक्ति पार्टीसँग निर्णायक वार्ता नभएकाले समस्या भएको हो। केन्द्रीय नेताहरूलाई विश्वासको मतको वातावण तयार गर्न आग्रह गर्दै मुख्यमन्त्री रावल काठमाडाैँमा छन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहल’प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरूसँग भेटघाट तथा छलफल गरेका छन्।

केन्द्रीय नेताहरूलाई नागरिक उन्मुक्तिको मुद्दा सम्बोधन गर्न र विश्वासको मतका लागि वातावरण बनाउन उनले आग्रह गर्दै आएका हुन्।

नागरिक उन्मुक्ति पार्टीसँग ७ जना प्रदेश सभा सदस्य रहेका छन। उनले बिश्वासकाे मत नदिए बर्तमान मुख्यमन्त्री रावल अल्पमतमा पर्नेछन्।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्