मधेस प्रदेश: प्रदेशप्रमुख बाहिर हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

फाइल तस्बिर।

जनकपुरधाम – मधेस प्रदेशका प्रदेश प्रमुख प्रदेशबाहिर हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता साझेदार दलबीच सहमति भएपनि प्रदेश प्रमुख हरिशंकर मिश्र बाहिर हुँदा मन्त्रिपरिषद् विस्तार गर्नमा ढिलाई भएको बताए।

मंगलबार विभिन्न चरणमा सत्ता साझेदार दलबीच बसेको बैठकले मन्त्रालयको टुंगो लगाईसकेको र प्रदेश प्रमुख मिश्र आउने बितिकै मन्त्रिपरिषद् विस्तार हुने उनले बताए।
प्रदेश प्रमुख मिश्र भने उपचारको क्रममा काठमाडौँमा छन्।

सत्ता साझेदार दलबीच हाल कायम रहेको मन्त्रालयमा थप घट नगर्नेगरी सहमति भएको हो। सहमति अनुसार नेकपा एमालेले ४ मन्त्रालय, जनता समाजवादी पार्टीले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको हो।

अहिले मन्त्रिपरिषद्मा मुख्यमन्त्री र तीनजना बिनाविभागिय मन्त्री रहेका छन्। एमाले, जसपा र जनमत पार्टीबाट एक/एकजना बिना विभागिय मन्त्री रहेका छन्।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्