गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’, थप बहस शुक्रबार

काठमाडौँ- नागरिकता विवादसम्बन्धी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा सकिएको छ।

अब शुक्रबारका लागि उक्त मुद्दा निरन्तर हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

बुधबार रविको नागरिकता अवैध भएकोबारे रिट निवेदनका तर्फबाट अधिवक्ताहरु रमण कर्ण, सुरेन्द्र भण्डारी र रवि बस्यालले आफ्ना भनाइ राखेका थिए।

उनीहरुले लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्स्थापित हुने प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिक नभएको बताएका थिए।

लामिछानेको पुरानो नागरिकता सक्रिय गर्ने प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिकता प्राप्त गर्न योग्य नागरिक मात्र भएको बहसका क्रममा जिकिर गरिएको थियो।

उता लामिछानेका पक्षमा सुनील पोखरेल र सुशील पन्तले बहस गरेका थिए। उनीहरुले लामिछानेले अमेरिकी नागरिकता त्यागिसकेकाले उनी स्वत: नेपाली नागरिक भइसकेको जिकिर बहसका क्रममा गरेका थिए।

रिट निवेदकका तर्फबाट सरकारी वकिल सञ्जीवराज रेग्मीले पनि बहस गरेका थिए।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्