
काठमाडौँ – अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी कार्यक्रमलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। काठमाडौंमा बुधवार एक कार्यक्रमबीच छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा कार्यक्रममा उनले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई सफल बनाउन बोर्डले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले चलचित्र क्षेत्रका हकहितसम्बन्धी विषयमा सरकार र सबै क्षेत्र र सम्बन्धित निकायसम्म विकास बोर्डले आफ्ना माग राखिरहने बताए।
कार्यक्रममा कलाकार निर्मल शर्माले अन्तर्राष्ट्रिय जगतमा नेपालमा पनि राम्रा चलचित्र बन्छन् र नेपाल पनि एउटा चलचित्रका लागि उपयुक्त स्थान हो भन्ने परिचयका लागि महोत्सवले ठूलो भूमिका खेल्ने बताए। उनले डेडिकेटेड चलचित्रलाई प्लेटफर्म दिएर सुरक्षित बनाउन आग्रह गरे।
त्यस्तै, अभिनेत्री दीपाश्री निरौलाले चलचित्र महोत्सव महोत्सव मात्र नभई कलाकर्मीका लागि ऊर्जाको विषय भएको बताइन्। उनले भनिन्, ‘फिल्मको महोत्सव, अवार्ड र सम्मान भन्नु नै कला र कलाकर्मीको लागि एउटा ऊर्जा हो।’
अभिनेत्री गौरी मल्लले महोत्सवमा नेपाली चलचित्रबारे विदेशीलाई प्रचार गर्न सक्नुपर्ने बताइन्। उनले नेपाली चलचित्र र नेपालको कला संस्कृतिको प्रचार गर्नसके नेपाली चलचित्रले विदेशमा स्थान पाउने र लुकेका प्रतिभाको खोजी पनि चलचित्र महोत्सवबाट हुनुपर्ने बताइन्।
त्यस्तै, कार्यक्रममा अभिनेता नीर शाहले अन्तर्राष्ट्रिय स्तरका गुणात्मक चलचित्र चयन गरेर नेपाली चलचित्रबारे पनि विदेशीलाई प्रचार गर्न सक्नुपर्ने बताए। उनले विश्वका धेरै चलचित्र एकै ठाउँमा बसेर हेर्न सकिने स्थान काठमाडौं रहेको जानकारी दिए। उनले नेपाल पनि राम्रा सिनेमा बनाउन सक्ने प्रशस्त सम्भावना भएको देश भएको बताए।
उनले भने, ‘प्रत्येक वर्ष ३६५ दिन नै नेपालमा चलचित्रसम्बन्धी गतिविधि हुने गर्छन्। वर्ष कुन बेला सकियो, कुन बेला सुरु हुन्छ हेक्का नै हुँदैन। हरेक दिन केही न केही चलचित्रका नाममा भइरहेको हुन्छ।
अन्तर्राष्ट्रिय स्तरका गुणात्मक दृष्टिकोणले जुन प्रकारका सिनेमाहरु अन्तर्राष्ट्रिय चलचत्रि महोत्सवका दौरान दर्शकहरुले हेर्ने अवसर प्राप्त गर्छन्, त्यो गर्नका लागि एउटा मानिसले आधा जीवन खर्च गरेर करोडौं रुपैयाँ खर्च गर्दा पनि प्राप्त गर्न नसक्ने खालको अवसर हो। त्यसलाई कसरी बुझेका छौँ। विश्वभरका यति धेरै गुणस्तरीय सिनेमा एकै ठाउँमा बसेर हेर्न पाइने विश्वमै थोरै ठाउँ मध्येको एउटा ठाउँ बन्नसक्यो काठमाडौं। नेपाल पनि उत्कृष्ट सिनेमा बनाउनसक्ने प्रशस्त सम्भावना बोकेको देश हो।’
त्यस्तै, निफका अध्यक्ष केपी पाठकले यस वर्ष महोत्सवका लागि राम्रा चलचित्र चयन गरेको बताए। उनले फिल्ममेकरबाट अघिल्ला महोत्सवमा साउण्डको समस्या आउने गरेको गुनासो आएको भन्दै यसपटक सिनेमाहरू सिनेमा थिएटरबाटै देखाउने बताए।
उनले एउटा ठाउँमा मात्रै सीमित नगरी महोत्सवलाई उपत्यकाका तीन जिल्लामै प्रशारण गर्ने तयारी रहेको बताए। छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेछ।