यातायात कार्यालय धनकुटाका प्रमुख लुईंटेललाई मोसो

मोरङ – यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई नेकपा (बहुमत) का कार्यकर्ताले मोसो दलेका छन्। बुधबार दिउँसो लुईंटेलमाथि कार्यकक्षमै मोसो दलिएको हो।

नेकपा (बहुमत) धनकुटा संयोजक मोहन घलेले विज्ञप्तिमार्फत मोसो छ्यापिएको बताए।

उनले कार्यालय प्रमुख लुईंटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घुस लिने गरेको आरोप लगाउँदै पार्टीलाई प्राप्त भएको गुनासोका आधारमा छानबिन गर्दा प्रमाणित भएकाले चेतावनीस्वरुप मोसो दलेको जानकारी दिए।

विराटनगर घर भएका लुईंटेल एक वर्षयता त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत थिए। कार्यालयका कर्मचारी स्रोतले भने विभिन्न समूहका नाममा कार्यालयमा चन्दा माग हुने गरेको र चन्दा नदिएका कारण कार्यालय प्रमुखमाथि दुर्व्यवहार भएको दाबी गरेका छन्।

कर्मचारीहले कार्यालयमा काम गर्ने वातावरण नबनेको भन्दै सुरक्षाको व्यवस्था नभएसम्म काम नगर्ने चेतावनी दिएका छन्। घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न समेत उनीहरूले माग गरेका छन्।

घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्