मलेसियामा बाढीका कारण हजारौँ विस्थापित

मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन्।
मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ भने उत्तरी बोर्नियो राज्य सबाह र पाहाङ राज्यमा पनि बाढीले गर्दा सामान्य जीवन प्रभावित भएको छ।
सिँचाइ तथा ढल निकास विभागका अनुसार जोहोरका चारवटा नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि नागरिकलाई सावधानी अपनाउन भनिएको छ।
मलेसियामा उत्तरपूर्वी मनसुनको प्रभाब सामान्यतया नोभेम्बरदेखि मार्चसम्म रहन्छ। मलेसियामा गत वर्ष पनि बाढीका कारण हजारौँ मानिस प्रभावित बनेका थिए।