काठमाडौँ- हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बिहीबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ।
विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।
आजका दिन अक्षराम्भ गर्ने प्रचलन पनि रहेको छ। देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले काठमाडौँको स्वयम्भूमा बिहान सरस्वतीमाताको पूजाका लागि पुगेकामा केही तस्बिर खिचेका छन्।