पर्यटन प्रर्वद्धनका लागि पर्यटन बाेर्डद्वारा विभिन्न देशमा सेल्स मिसन कार्यक्रम

काठमाडाैँ- नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन सुरु गरेको छ।

बोर्डको वार्षिक कार्यक्रमअनुसार विभिन्न देशमा यस्ता कार्यक्रमहरू भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए।

‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरुको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरू सुरु भएका छन्। यसले नेपालको पर्यटनलाई लयमा फकाउन सहयोग गर्ने अपेक्षा गरेका छौँ’, उनले भने।

बोर्डले नेपाल एसाेसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) सँगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (वनारस), र ११ गते गोखपुरमा सेल्स मिसन तथा बिटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गदैछ।

कार्यक्रममा नेपालका पर्यटन व्वसायी तथा भारतीय पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ। सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको छ।

गोरखपुर तथा वनारसमा आयोजित कार्यक्रममा नेपाल बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालको पर्यटनबारे प्रस्तुतीकरण दिँदै नेपाल र भारतबीच एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र वाराणसी र नेपालका बीच धार्मिक पर्यटनमा सहकार्य गर्न सकिने र यसबाट दुवै देशलाई फाइदा पुग्ने बताए।

नाट्टाका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक विष्णु पाण्डेले नेपालले भारतीय पर्यटकका लागि विशेष ध्यान दिँदै क्रस र्बोडर पर्यटनमा जोड दिएको बताए।

स्पेनको मड्रिडमा फितुर सम्पन्न

यसैबीच नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मड्रिडमा फितुर सम्पन्न भएको छ। जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको उक्त कार्यक्रमको अवलोकन गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल सबै सिजनको लागि उप‍युक्त गन्तव्य भएको भन्दै नेपाल भ्रमणको लागि आग्रह गरिन्।

यस्तै, बोर्ड र स्पेनस्थित नेपाली दूतावासको सहकार्यमा नेपाल प्रमोसन इभेन्ट पनि सम्पन्न भएको छ।

कार्यक्रममा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले सहभागीहरूका लागि नेपालको समग्र पर्यटनको प्रस्तुतीकरण तथा पछिल्लो पर्यटकीय गतिविधिका बारेमा जानकारी दिएका थिए।

यस्तै नाट्टाका अध्यक्ष रमेश थापाले नेपाल सैब खालका पर्यटकको लागि उपयुक्त गन्तव्य भएकोले भ्रमण गर्न आग्रह गरे।

सन २०२२ मा स्पेनबाट ८ हजार ३३९ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्