दल बाहिरबाट राष्ट्रपति हुने संभावना छैन: कांग्रेस प्रवक्ता महत

नेपालगञ्ज – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक दलबाहिरबाट राष्ट्रपति हुने संभावना नरहेको बताएका छन्।

प्रेस युनियन बाँकेले बिहीबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बाेल्दै प्रवक्ता डा. महतले राष्ट्रपति दलभित्रबाट नै हुने र राष्ट्रपति भइसकेपछि दलभन्दा माथि उठेर संविधानको पक्षमा काम गर्ने व्यक्तिलाई छानिने बताएका हुन्।

एक प्रश्नमा डा.महतले बाबुराम भट्टराईको राष्ट्रपति बन्ने संभावना नरहेको बताए। उनले कानुनी शासन र संविधानको रक्षाका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने बताए।

उनले कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राष्ट्रपतिको आकांक्षी रहेको खुलाए। डा. महतले पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपति हुन इच्छा नदेखाएको प्रष्ट पारे।

प्रवक्ता डा. महतले तत्कालिन परिस्थितिमा सरकारलाई विश्वासको मत दिएपनि आफूहरु सरकार निर्माण र मन्त्रीपरिषद्मा सहभागी नभएकाले प्रतिपक्षकै भूमिकामा रहने बताए।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनमा टुट्नुमा मूल्यांकनमा कमी कमजोरी भएकोसमेत खुलाएका हुन्।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्