विवादै विवादमा घेरिएको खेलकुद, कहिलेसम्म नेतृत्वविहीन?

फाइल फोटो

काठमाडौँ – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३ औँ संस्करण नेपालमा आयोजना भएसँगै पुनः नेपाली खेलकुद जुर्मुराएको थियो। नेपालले प्रतियोगितामा भारतपछि सर्वाधिक (५१) स्वर्ण चुम्यो। दक्षिण एसियामा नयाँ मानक स्थापित गर्‍यो।

तर त्यसपछि सम्पूर्ण विश्व कोरोना महामारीको चपेटामा पर्‍यो। नेपाल पनि त्यो महामारीबाट मुक्त रहेन। लामो समय कोभिडकै कारण अन्य क्षेत्रजस्तै खेलकुद क्षेत्र पनि ठप्प रह्यो। तर त्यो बेला ठप्प भएको खेलकुद राम्रो लयमा नफर्कदै अनेकन विवादको भूमरीमा फसेको छ। एकपछि अर्को विवादका श्रृंखलामा नेपाली खेलकुद क्षेत्र फस्दा खेलाडीमा नैराश्यताले पलायनको श्रृंखला बढाएको छ।

निरासा नै निरासा छ, नेतृत्व छैन


अहिले नेपाली खेलकुदमा निरासा नै निरासा छ। खेलाडी पलायनले जर्जर बनेका खेलहरु नियमित नहुँदा सम्बन्धित संघ तथा प्रशिक्षक र खेलाडीहरु आ-आफ्नो तालमा रहेका छन्। राष्ट्रिय खेलकुद परिषदले हस्तक्षेपकारी भूमिका खेल्न सकेको छैन। खेल संघहरुले समयमा कुनै पनि खेलकुद गतिविधि नगर्दा खेलाडीको संख्या घट्दो छ।

गत चुनावपछि नयाँ सरकार गठन भयो। सबै मन्त्रालयले लगभग आफ्नो नेतृत्व (मन्त्री) पाउँदा खेलकुद मन्त्रालय मन्त्रीविहीन छ। जसले गर्दा आउँदै गरेको एसियाको सर्वाधिक ठूलो प्रतियोगिता एसियाडका लागि खेलाडीको वैदेशिक प्रशिक्षण अन्योलमा छ।

धेरै खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा पाएका मौका सदुपयोग गर्न सकेका छैनन्। साथै राष्ट्रिय स्तरमा मन्त्रालयले चलायमान बनाउन सक्ने गतिविधि ठप्प छन्। त्यसो त खेलकुद मन्त्रालयभन्दा बढी राष्ट्रिय खेलकुद परिषदकै सक्रियतामा सक्रिय हुने संस्था भए पनि नयाँ ऐनले मन्त्रालयको भूमिका बढाएको छ। त्यसैले खेलकुद मन्त्री नहुँदा त्यसको प्रत्यक्ष असर पर्दै गएको छ। तर अझै पनि खेलकुदले मन्त्रालय कहिले पाउँछ टुंगो छैन।

फुटबलमा विवाद


नेपाली फुटबल दक्षिण एसियामा प्रतिस्पर्धात्मक देशका रुपमा स्थापित थियो। फुटबलमा दक्षिण एसियको सर्वाधिक ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल विजयी नभए पनि दाबेदारमा सधैँ अब्बल मानियो। तर पछिल्लो समय एकपछि अर्को विवादमा फुटबल फस्दै जाँदा जमेका खेलाडीको पलायनको श्रृंखला बढ्यो भने नयाँ खेलाडीमा रुचि घट्यो। जसले गर्दा अबको केहि वर्षमा राष्ट्रिय टिम दक्षिण एसियामा भुटानपछि हुने अवस्थामा पुग्ने छ। एन्फा नेतृत्वसचेत नहुँदा नेपाली फुटबलको भविष्य अन्योलग्रस्त बनेको छ।

क्रिकेटमा विवादै विवाद


लामो समयको प्रतिबन्धपछि गत जेठमा ६ वर्षपछि पूर्णरुपमा प्रतिबन्धमुक्त भएको नेपाल क्रिकेट संघ नयाँ विवादमा तानिएको छ। क्यानले ठूलो महत्वका साथ गरेको नेपाल टी-२० लिग नै ‘स्पट फिक्सिङ’को केन्द्र बनेपछि क्यानको चर्को आलोचना भइरहेको छ।

केही सम्भावना भएका खेलाडीहरु नै मुछिँदा क्यान नेतृत्वले नै खेलाडीलाई फिक्सिङको वातावरण बनाएको ठहर राखेप छानबिन समितिले गरेको छ। तर यो विवादको समाधान कसरी हुन्छ, अन्योलमा छ।

मुख्य रुपमा राष्ट्रिय खेलकुद परिषद्ले क्यानको सहभागितामा नै फिक्सिङको वातावरण बनेको र अवैधानिक तवरले विदेशी कम्पनीसँग सम्झौता गरेको भन्दै क्यानको समग्र नेतृत्व नै परिवर्तन गर्नुपर्ने प्रतिवेदन तयार भएसँगै फेरि नेपाल क्रिकेट संघ प्रतिबन्धमा त पर्ने होइन? भन्ने संसय देखिएको छ।

खेलकुद गतिविधि ठप्प


राखेपमा दर्ता भएका धेरे खेलकुद संघहरु भए पनि सीमित मात्रै संघहरुले खेलकुद गतिविधि गर्दे आएका छन्। कुनै पनि संघले आधिकारिक रुपमा आफ्नो वार्षिक कार्यक्रम सार्वजानिक गरेका छैनन्। पदकका लागि निर्णायक मानिएका खेलहरु नै अन्योलग्रस्त अवस्थामा रहँदा आगामी दिनमा अन्तर्राष्ट्रिय पदक भित्रिने सम्भावना कमजोर छ।

आफूलाई प्रमाणित गरेका खेलाडीले पनि एक्सोपोजको अवसर कमै मात्र पाइरहेका छन्। संघहरुको निष्क्रियताले खेलाडीहरुको पलायन सबैतिरबाट बढाइरहेको छ।

एसियाड बल्ल प्रशिक्षण


एसियाको ओलम्पिकका रुपमा रहेको एसियाडका लागि अन्य देशहरुले विगत ३ वर्षदेखि तयारी गरिरहेका छन्। कोभिडका कारण एक वर्ष सरेको एसियाली खेलकुद चीनमा आयोजना हुँदै गर्दा यो पटक पनि नेपालको तयारी भने निकै निरासाजनक रहेको छ।

नवौं राष्ट्रिय खेलकुदअघि केही खेलका लागि खेलाडीलाई एसियाडको प्रशिक्षणका लागि बोलाए पनि त्यसपछि भने खेलाडीले एसियाडकै लागि भनेर तयारी गर्न पाएका छैनन्। नवौंलाई आधार मानेर पुनः खेलाडीहरुलाई क्लोज क्याम्पका लागि बोलाइएको छ।

राखेपले बीचमा चाडपर्व र चुनावलाई कारण देखाएर एसियाडको तयारी रोकेको थियो। चुनाव सकिएको दुई महिना बितिसक्दा अब माघबाट पुनः प्रारम्भिक प्रशिक्षण सुरु गर्ने तयारी गरिएको छ।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्