हिन्दुधर्मकाे पक्षमा खुलेर लाग्न उपप्रधानमन्त्री लिङ्देनकाे आग्रह

रुपन्देहीको ओमसतिया गाउँपालिका- ४ वसन्तपुरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका बालसन्त मोहनशरण देवाचार्यको साथमा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन। तस्बिरः राधेश्याम विश्वकर्मा/रासस।

बुटवल – उपप्रधान एवम् ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले हिन्दुधर्मका पक्षमा खुलेर लाग्न धर्मगुरुहरूलाई आग्रह गरेका छन्।

रुपन्देहीमा जगद्गुरुपीठ निर्माणको लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ समापनका अवसरमा मन्त्री लिङ्देनले धार्मिक कार्यक्रमहरूले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।

उपप्रधानमन्त्री लिङ्देनले नेपालमा धर्मगुरुहरू हिन्दु धर्मको पक्षमा खुलेर बोल्न डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दुधर्मको पक्षमा लागेको बताए। साथै, उनले यस्ता हिन्दुत्व सम्बन्धि कार्यक्रम तथा धार्मिक कार्यक्रमहरूले आफूलाई आनन्द दिने गरेको बताए।

कार्यक्रमका मूख्य वाचक बालसन्त मोहन शरण देवाचार्य महाराजले संसदबाट नै हिन्दुधर्मको पक्षमा बोल्न मन्त्री लिङ्देनलाई आग्रह गरे। उनले हिन्दुराज्यमा अन्य धर्मका नेपालीहरू पनि सुरक्षित महसुस गरेको बताउँदै ती सबैको चाहना पनि नेपाल हिन्दु राज्य नै हुनुपर्ने जिकिर गरे।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहन शरण देवाचार्यले चौँथो शक्तिपीठको रूपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए।

सुनसरीको चतराधाममा विसं.२०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको रायमाझीको भनाइ छ।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्