हामीबाट त्रुटि भयो, फिक्सिङमा जोसुकै संलग्न भए पनि कारबाही हुन्छः क्यान अध्यक्ष चन्द

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ‘स्पट फिक्सिङ’को मामिलामा दोषी देखिएका जोसुकैलाई कारबाही गरिने बताएका छन्।

उनले नेपाल क्रिकेट संघको संलग्नताको विषय भने अस्वीकार गर्दै यदी कोही पदाधिकारीहरु संलग्न रहेको पुष्टि भए हदैसम्मको कारबाही गरिने बताए। साथै उनले सेभेन थ्री स्पोर्टसँग गरिएको सम्झौतामा त्रुटी भएको बताए।

चन्दले प्रतियोगिताअघि नै आधिकारिक रुपमा सिआईबीलाई पत्र लेख्दै इन्ट्रीग्रिटी अफिसर राख्नका लागि क्यानले नै आग्रह गरेको बताए। उनले काम गर्दा त्रुटी भएको स्वीकार्दै भने, ‘हामीले नेपाल टी–२० लिग गर्दा गरेको सम्झौतामा प्रक्रियागत त्रुटी भयो। तर यसलाई नै कारण देखाएर कसैले पुनः क्यानलाई प्रतिबन्धउन्मूख बनाउनु हुँदैन।’

चन्दले निर्वाचित कार्यसमितिलाई निर्वाचित कार्यसमितिले मात्र रिप्लेस गर्न सक्ने भन्दै कसैले पनि क्यानको निर्वाचित कार्यसमिति भंग गर्न नसक्ने बताए।

उनले सम्झौता गर्दा विश्वास गरिएको बताए। उनले प्रक्रियागत त्रुटी भएको, जसले श्रम स्वीकृति, कम्पनी दर्ता र खेलाडीलाई पारिश्रमिकका विषयमा दबाब दिन नसक्नु कमजोरी भएको उनले स्वीकारे। यद्यपि उनले यसलाई क्यानकै असफलताका रुपमा स्वीकार गर्न नसकिने बताए।

बुधबार मात्र राष्ट्रिय खेलकुद परिषद्को छानबिन समितिले क्यानको वर्तमान नेतृत्व नै परिवर्तन गर्नुपर्ने आशयसहितको प्रतिबेदन बुझाएपछि क्यानमाथि पुनः आईसिसीले प्रतिबन्धन गर्नसक्ने सम्भावनाहरु बाहिरिएका थिए।

म्यानेजर विनोद दासले खेलअघि नै सबै टिमका खेलाडीहरुलाई एन्टी करप्सन युनिटबाट प्रशिक्षण दिएको बताए। उनले भने, ‘यस्ता प्रपोजहरु आईसीसीका इभेन्टमा पनि आउने गरेका थिए। तर हामीले त्यस्तो सम्भावना हुन्छ भनेर नै खेलअगाडि खेलाडीलाई थ्री आरका विषयमा खेलाडीलाई जानकरी गराएका हौँ,’ उनले भने, ‘हामीले खेलाडीलाई रिकग्नाइज (चिन्नु), रिजेक्ट (अस्वीकार), रिपोर्ट (उजुरी) गर्नुपर्ने थ्री आरको विषयमा स्पष्ट जानकारी गराएका थियौँ।’

साथै उनले मिडियाहरु समेत फिक्सिङका विषयमा सजग हुनुपर्ने बताए। उनले भने, ‘कुनै खेलाडीमाथि आरोप लाग्यो भनेर समाचार आयो भने समग्र खेलाडीको करिअर नै ड्यामेज हुने जोखिम हुन्छ, अनुसन्धानले ऊ निर्दोश हुन्छ तर पहिला नै मिडियामा उसलाई दोषी देखाउँदा थप समस्या आँउछ।’

खेलाडीको पैसा नरोकिने क्यानले स्पष्ट पार्‍यो। खेलाडीको पेमेन्ट नेपालमा मात्र नभइ अन्यत्र पनि केही ढिला हुने भए पनि खेलाडीले पाउने पारिश्रमिक नरोकिने बताए। क्यानले पुरस्कार सेभन थ्रीले नै उपलब्ध गराउने विश्वास लिएको बताए। यदि सेभेन थ्रीले पुरस्कारको रकम दिन अस्वीकार गरे कानुनी उपचार खोज्ने बताए।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्