राष्ट्रपतिमा कसलाई मत दिने भन्दै दाहालले मागे स्थायी समिति सदस्यहरुसँग राय

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेश गरेका छन्।

बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेश गरेका हुन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा पनि माग गरेका छन्। बैठकमा सहभागी एक सदस्यका अनुसार उनले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा मागेका थिए।

सरकार निर्माण गर्दा एमालेले राष्ट्रपति लिने बुझाइ बने पनि पछिल्लो समयमा यसबारे अन्यौल उत्पन्न भएको दाहालले स्थायी समिति बैठकमा बताएका थिए।

‘सरकार निर्माण गर्दा एमालेले राष्ट्रपति लिने बुझाइ बनेको थियो,’ बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै ती स्थायी समिति सदस्यले भने, ‘तर, यसबारे अहिले गम्भीर प्रश्नहरु उठिरहेका छन् । यसबारे के गर्ने भन्नेमा तपाईंहरुले राय दिनुपर्छ । यही समितिबाट केही न केही निर्णय गर्नुपर्छ ।’

नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।

अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। बैठकमा अध्यक्ष दाहालले निर्वाचनअघिको गठबन्धन छाडेर नेकपा (एमाले)सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको महराले बताए।

उनले भने, ‘सरकार बन्नुभन्दा पहिले चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ, त्यो स्थिति र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफ गर्नुभयो।’

बैठकमा पार्टी एकता र संगठन विस्तारबारेमा एजेण्डा रहेको र भोलि (शुक्रबार) बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ। बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्