अर्थतन्त्रको अवस्था अझै चिन्ताजनकः प्रधानमन्त्री प्रचण्ड

फाइल फोटो।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताएका हुन्।

उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौती रहेको बताए। प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशानिर्देश गरेको बताए।

उनले भने, ‘अहिले हामी विशिष्ट अवस्थामा छौँ। आर्थिक रुपले परिसूचकहरु त्यति राम्रो छैन। चिन्ताजनक छन्। यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जसलाई मैले चुनौतीको विषय मानेको छु।’

प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासन, नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताए।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्