धनगढीका २२ सयभन्दा बढी बालबालिकालाई शैक्षिक सामग्री वितरण

धनगढी – धनगढी उपमहानगरपालिका क्षेत्रका २२ सयभन्दा बढी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा धनगढी नगरक्षेत्रका ८ वटा बिद्यालयका ईसिडी देखि कक्षा ८ सम्मका २२ सय १० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो।

 सामग्री कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाश देउवाले विद्यार्थीलाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश देउवाले राज्यको लगानीको प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्ने बताए।

उनले भने, ‘शिक्षा नै देश विकासको मुख्य आधार हो, त्यसैले राज्यको अबको लगानी बालबालिकाको शिक्षामा हुनुपर्छ।’ अहिले बालबालिकामा लगानी गरे मात्र भविष्यमा देशले राम्रो जनशक्ति उत्पादन गर्न सक्ने प्रदेश सभा सदस्य देउवाको भनाइ छ।

रुडुकको पाण्डाप्याक परियोजनाअन्र्तगत बालबालिकालाई स्कुल झोला, स्टेसनरी र स्वास्थ्य सामग्री वितरण गरिएको थियो। धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा रहेका राष्ट्रिय तुलसीराम, राष्ट्रिय आधारभूत विद्यालय, शारदा मावि, सरस्वती स्कुल, जनता आधारभूत विद्यालय, जनता राष्ट्रिय मावि, ठेकराज मावि र भैरवबाबा आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्