महानगरको शिक्षामा मेयर नै असन्तुष्ट

पोखरा – ‘पढाइ त भयो। फिल्ड भिजिट जाने भन्छौँ, यो सब्जेट त प्राक्टिकल हो। आर्थिक अभावले फिल्ड भिजिट जान पाएनौँ’, सरस्वती टिका माध्यमिक विद्यालयमा तीन वर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा अध्ययनरत कल्पना विकले दुखेसो पोखिन्।
प्राविधिक शिक्षा पढे पनि फिल्ड भिजिटमा गएर अनुभव सँगाल्न नपाएपछि सैद्धान्तिक शिक्षा र व्यवहारिक शिक्षामा फरक नभएको उनले महसुश गरेकी छन्।
बिहीबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले आयोजना गरेको ‘मेयरसँग विद्यार्थी अन्तरसंवाद’ कार्यक्रम कल्पनाले प्राविधिक शिक्षा पढ्दै गर्दा भोगेका अनुभव मात्रै सुनाइनन्, प्राविधिक धारको शिक्षा पूरा भएपछि पनि बेरोजार बस्नुपरेको उदाहरण पेश गरिन्। भनिन्, ‘डिप्लोमा पढेपछि पनि धेरै दाइ दिदीहरु बेरोजगार भएर बस्नुभएको छ। उहाँहरुले रोजगार पाउनु भएको छैन। यसको कारण राजनीति हो या गल्ती हो कि हामी सिटिइभिटीमा जोइन भयौँ।’
जवाफमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्राविधिक शिक्षा लिएका कोही विद्यार्थी बेरोजगार बस्नु नपर्ने बताए। ‘जति पनि महानगर अन्तर्गतबाट पास आउट हुनुभा’छ तपाईंहरुलाई हामी कहीँ न कहीँ एडजस्ट गराउँछौँ’, आश्वस्त पार्दै उनले भने।
प्राविधिक शिक्षाका कुरा अन्तरसंवादमा गण्डकी बहुप्राविधिक शिक्षालय पोखरामा अध्ययनरत विवेकबहादुर क्षेत्रीले सोधे, ‘मैले तीन वर्षे अटो मोबाइल इन्जिनियरिङ पढाइ सकेर व्यावसाय गर्न चाहेँ भने आर्थिक हिसाबले महानगरको कस्तो सहयोग रहने छ?’
नयाँ काम सुरुवात गर्नलाई महानगरले केही रकम र प्राविधिक सहयोग गर्ने मेयर आचार्यले बताए। ‘इनोभेटिभ आइडिया तपाईंसँग छ। तपाईंसँग व्यवस्थापनको ज्ञान नहुन सक्छ। बजारको विश्लेषण नहुन सक्छ, आदि कुराहरुको सहयोग चाहिन्छ भने पनि उपलब्ध गराउछौँ’, उनले भने।
सरस्वती टिका माविका सुशील पौडेलले ‘लर्न एण्ड अर्न’ कार्यक्रम लागु नभएकोमा गुनासो गरे। सिटिइभिटीको तीन वर्षे डिप्लोमा तहको पढाइ सक्न पाँच वर्ष लाग्ने दुखान्त पनि उनले सुनाए।
स्वास्थ्यतर्फको विषय अध्यन गरेका विद्यार्थीले पाठ्यक्रम पूरा पढेपछि पनि स्वयंसेवकको रुपमा काम गर्नुपरेको मेयरलाई सुनाए। प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा आउने अवसरका बारेमा विद्यार्थी मेयर आचार्यसँग गफिए।
महानगरको शिक्षामा मेयर नै असन्तृष्ट
उच्च शिक्षा अध्ययन गर्न धेरै विद्यार्थी काठमाडौँपछि पोखरा आउँछन्। धेरैको रोजाइ भएको पोखराको शैक्षिक स्थिति सन्तुष्ट हुनलायक नभएको मेयर आचार्य आफैं बताउँछन्। मेयरसँग विद्यार्थी अन्तरसंवाद कार्यक्रमको सुरुवातमा आचार्य बाल्यकाल अर्थात् स्कुले जीवनमा फर्किए।
उनले आफ्नो पढाइ, स्वभावका बारेमा सहभागी विद्यार्थीलाई सुनाए। मेयर आचार्यको शिक्षासँगै राजनीतिक जीवनबारे सुनेपछि सहजकर्ता उपेन्द्र पौडेलले प्रश्न तेर्स्याए, ‘महानगरको शिक्षालाई लिएर मेयर साप कत्तिको सन्तुष्ट हुनुहुन्छ?’
‘सन्तृष्टै छैन’, लामो श्वास फेर्दै मेयर आचार्यले जवाफ फर्काए, ‘देशभरिकै शिक्षामा यत्ति धेरै लगानी छ तर सन्तुष्ट हुन सक्ने ठाउँ छैन। महानगरको शिक्षामा हामीले ठूलै लगानी गरेका छौँ। हाम्रो शिक्षा पराम्परागत नै छ। यो हामीले यहाँबाट मात्रै परिवर्तन गरेर हुने कुरा त भएन। तर, हामी अलिकता परम्परागत नै छौँ भनेर भन्दा कुनै अफ्ठ्यारो हुँदैन।’ पोखराको शिक्षालाई सुधार गर्न यसअगाडिका मेयर मानबहादुर जिसीको पालामा बनेको योजनालाई कार्यन्वयन गर्ने उनले बताए।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षा सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिष्कृत ज्ञानको हासिल भएको बताए। ‘हाम्रो प्राविधिक शिक्षाको महत्व काम गर्दै आयआर्जन गर्दै आफ्नो करिअरलाई अगाडि बढाउँदै लैजाने हो’, उनले भने।
गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीतिमै सुधारको आवश्यकता रहेको बताए। ‘राष्ट्रिय शिक्षा प्रारूपमा यसको ढाँचा स्वीकृत भइसकेको छ। अबको केही वर्षमा प्राविधिक शिक्षामा नीतिगत एकरूपता आउनेछ’, उनले भने।