पार्टीभित्र एकले अर्कालाई नस्वीकार्ने खतरनाक संस्कार विकास भइरहेको छः कांग्रेस प्रवक्ता महत

नेपालगञ्ज – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले समानुपातिकतर्फ पनि अन्तर्घात गर्ने नयाँ रोग पार्टीमा भित्रिएको बताएका छन्।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले प्रत्यक्षतर्फ हुँदै आएको अन्तर्घात यसपटक समानुपातिकमा पनि प्रवेश गरेको बताए।
‘पार्टीलाई घात गरेर अन्यत्रै भोट हालिएको छ। आफ्नै साथीलाई स्वीकार्न नसकेर अरु पार्टीका उम्मेदवारहरुलाई भोट हाल्ने काम पनि भएको छ,’ महतले भने, ‘आफ्नै साथीलाई हामी स्वीकार्न तयार छैनौँ, बरु अन्यत्र मतदान गरिरहेका छौँ।’
उनले पार्टीमा आग्रह पूर्वाग्रह तल्लो तहसम्म पुगेको बताउँदै विभाजित मानसिकता हाबी भएको टिप्पणी गरे। एकले अर्कालाई नस्वीकार्ने खतरनाक संस्कार पार्टीभित्र मौलाएको उनको भनाइ छ। कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामै रहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान रक्षाका पक्षमा उभिने प्रतिबद्धता जनाएपछि तत्कालका लागि कांग्रेसले सरकारलाई समर्थन दिएको जिकिर गरे।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले टिकट वितरणमा उपयुक्त निर्णय लिन नसक्दा पार्टीले पराजय व्यहोरेको बताए। केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन गर्ने परिपाटीको विकास गर्न नसक्दा समस्या बढेको उनको भनाइ थियो। पार्टीमा इमान र अनुशासन कमजोर भएको गौडेलले टिप्पणी गरे।
कार्यक्रममा नेता कार्यकर्ताले राखेका जिज्ञासाको जवाफ प्रवक्ता महतले दिएका थिए।