कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छः नेता महर

दाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब कांग्रेसलाई बलियो बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन्।
कांग्रेस घोराही उपमहानगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।
‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनु पर्छ। पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाई ल्याउने अवस्थामा पुगाउनुपर्छ। त्यसपछि मात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ।’
अब कांग्रेस सत्ताको खेलमा लाग्न नहुने उनको तर्क छ। उनले पहिले संसद भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निरासाको उदाहरण भएको बताए।
उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आशा मर्दै गएको टिप्पणी गरे। मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको बताए।
‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाति स्टेपहरू नै विवादास्पद र निरासाजनक देखिएका छन्। यो अवस्था देशका लागि सुखद होइन,’ उनले भने। उनले अहिलेको सरकार त झनै तासको महलजस्तो भएको बताए।
‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैमा लडाइँ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफै ढल्ने छ,’ महरले भने, ‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ।’
राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाए।
प्रदेश सभापति तिलक रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश उपसभापति राजु खनाल, नेताहरू खगराज पाण्डे, जिल्ला सभापति शंकरप्रसाद डाँगीलगायतले धारणा राखेका थिए।