लागूऔषधसहित जनकपुरबाट चार जना पक्राउ

जनकपुरधाम – प्रतिबन्धित लागूऔषधसहित जनकपुरधामबाट चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ र ज ६ प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा जनकपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले चारैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषध उनीहरुको साथबाट बरामद गरेको हो।

बिहिबार अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागूऔषध ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए।

माघ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्