विमान दुर्घटनास्थलमा पूजापाठसँगै श्रद्धाञ्जली सभा (तस्बिरसहित)

पोखरा – विमानका अवशेष यत्रतत्र छरिएका छन्। अवशेषको सुरक्षाका लागि त्रिपालले छोपिएको छ। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुलनजिकै सेती खोंचमा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनास्थलमा अझै पनि भीड छ।

आकाशमा उड्दै गरेको विमान भुइँ झरेर धस्सारिएको घारीपाटनतर्फको क्षेत्रमा हिन्दु र बौद्ध धर्मअनुसार पूजापाठ भइरहेको छ। एउटै थलो, फरक दुई धार्मिक परम्पराअनुसार पूजापाठ भइरहेको स्थानमा विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रु र चालक दलका आफन्त आउँछन्, धुपबत्ती बाल्छन्, फूल चढाउँछन्।

बिहान १० नबज्दै सुरु भएको आउजाउ बाक्लिदै थियो। १० बजेर ५८ मिनेटमा पोखरा महानगरपालिकाको आयोजनामा श्रद्धाञ्जली सभा सुरु भयो। जुन समयमा १३ दिन अगाडि जहाज दुर्घटना भएको थियो।

कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत उपस्थित जप्रतिनिधि, कर्मचारीले फूलका गुच्छा ज्यान गुमाउनेहरुका नाममा चढाए। ७२ वटा दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे।

१३ औँ दिनको पुण्यतिथिमा महानगरले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले भने, ‘यस्ता दुर्घटना कहिल्यै नदोहोरियोस्।’ उनले सिंगो गण्डकी प्रदेश शोकमा एकताबद्ध रहेको बताए।

‘अब हामी शोकलाई शक्तिमा बदल्ने अठोटका साथ यी आला घाउहरु पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गर्दै अगाडि बढ्ने अठोट गरौँ’, उनले भने। उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउटलगायतका संघसंस्था र व्यक्तिप्रति प्रदेश सरकारको तर्फबाट धन्यवाद दिए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली आकाशमा यति ठूला दुर्घटना हुन नदिनलाई नेपाल सरकारले तदारुकताका साथ काम गरिरहेको बताए। ‘त्यो निष्कर्षमा पुग्छ भन्ने हामीले आशा लिएका छौँ’, उनले भने।

घारीपाटनतर्फको दुर्घटनास्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पनि शान्ति पाठ, पूजा, प्रार्थनासहितको श्रद्धाञ्जली सभा गरेको छ। सीताराम कलोनीतर्फ हिन्दु परम्पराअनुसार पूजापाठ र दिंवगत आत्माहरुको चिरशान्ति स्मृति प्रार्थना सभा भएको छ। दुर्घटनास्थलमा मन्त्रोचरणसहितको स्वस्ति शान्ति गरियो। स्वस्ति शान्तिमा पनि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी सहभागी भएका थिए।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिकतर्फको सबैभन्दा ठूलो दुर्घटना हो। यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान दुर्घटना हुँदा चालक दलका ४ र ६८ यात्रु गरेर ७२ जनाले ज्यान गुमाएका थिए।

माघ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्