टाइगर कप भलिबलः महिलातर्फको उपाधि एपीएफलाई

‍पोखरा – टाइगर कप भलिबलको महिलातर्फको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उचालेको छ।

शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि रक्षा गरेको हो।

एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ। यो संस्करणमा एपीएफसँग रोकिएको आर्मीले उपाधिमा नाम लेखाउन सफल भएन। एपीएफले भने आफ्नो साख जोगाएको छ।

पहिलो सेटमा एपीएफका खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दा जित हासिल गर्न सफल भयो। एपीएफले आर्मीलाई २५–२० स्कोरमा पराजित गर्‍यो। दोस्रो सेटमा आर्मीले एपीएफलाई रोक्यो। एपीएफविरुद्ध आर्मीले २५–२२ को जित निकालेको थियो।

तेस्रो सेटको सुरुवातदेखि नै एपीएफले अग्रता कायम गर्न सफल भयो। एपीएफको सुरुवाती अग्रताले आर्मीका खेलाडीको आत्मबल घटेसँगै खेल खस्किएको थियो। निकै आक्रमक खेलेको एपीएफविरुद्ध आर्मीले तेस्रो सेटमा १० अंक पनि कटाउन सकेन। एपीएफले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–८ को जित दर्ता गरायो। चौथौं सेटमा एपीएफले २५–२२ को जित निकाल्दै उपाधि जितेको हो।

उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। उपाधि विजेता एपीएफ साविकको विजेता पनि हो। गत संस्करणमा पनि फाइनलमा एपीएफ र आर्मी भिडेका थिए। आर्मीलाई ३–० को सोझो सेटमा रोक्दै एपीएफ च्याम्पियन बनेको थियो। पहिलो संस्करणमा एपीएफलाई उपाधि होडमा पुलिसले रोकेको थियो। पुलिससँग ३–० को सोझो सेटमा हारेको एपीएफले त्यसपछिका संस्करण लगातार जित्दै इतिहास रच्न सफल भएको छ।

तेस्रो स्थान न्यु डायमण्डले प्राप्त गरेको छ। तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा प्रतियोगिताकै कमजोर टिम गण्डकी प्रदेशलाई न्यू डायमण्डले ३–० को सोझो सेटमा पराजित गरेको हो।

विभागीय टिम नेपाल पुलिस क्बल र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड अन्तिम समयमा अनुपस्थित हुने जानकारी गराएपछि गण्डकीको महिला टोलीलाई मैदान उतारिएको थियो। ३ जना भारतीय राष्ट्रियस्तरका खेलाडी गण्डकीको महिला टोलीमा समावेश भए पनि प्रतियोगितामा जितविहीन भयो।

तेस्रो भएको न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ र ४ टोली सहभागी खेलमा चौथौं भएको गण्डकीले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
अब केहीबेरमा पुरुषतर्फको फाइनल भिडन्त हुँदैछ। फाइनलमा सशस्त्र प्रहरी बल एपीएफसँग घरेलु टोली गण्डकीले प्रतिस्पर्धा गर्नेछ। गण्डकी पहिलो संस्करणको विजेता पनि हो।

विजेता आर्मीलाई हराउँदै पुलिस तेस्रो


साविक विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्बल तेस्रो भएको छ। तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शनिबार भएको पुरुषतर्फको खेलमा लिग चरणमा व्यहोरेको हारको बदला लिँदै पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो।

दोस्रो संस्करणमा उपाधि उचालेको आर्मी पहिलो संस्करणमा घरेलु टोली गण्डकीसँग पराजित भएको थियो। पोखरा रंगशालााको भलिबल कोर्टमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पहिलो सेट २५–२२ अंकको जित निकाल्यो। त्यसपछिको लगातार ३ सेट पुलिसको जितेको छ। पुलिसले १८–२५, २१–२५ र २०–२५ जित हासिल गर्दै तेस्रो स्थान प्राप्त गर्‍यो।

तेस्रो भएको पुलिसले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ। चौथो भएको आर्मीले ६५ हजार रुपैयाँमा चित्त बुझायो। सेमिफाइनलमा आर्मीलाई गण्डकीले र पुलिसलाई एपीएफले रोक्दै उपाधि होडमा पुगेको हो।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्