स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालिम

सिमकोट – गाउँ–गाउँमा खोप तथा गर्भजाँच कार्यमा सक्रिय रुपमा खटिँदै आएकी महिला स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालिम सुुरु गरिएको छ। उनीहरूबाट प्रदान हुने सेवालाई अझै प्रभावकारी बनाउनका लागि सो तालिमको व्यवस्था गरिएको हो।
अदानचुली गाउँपालिकाका स्वास्थ्यकर्मी सन्तोष बुमीले गाउँ–गाउँमा स्वास्थ्य क्षेत्रमा खटिँदै आएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सुरु गरिएको बताए।
गाउँपालिकाले नयाँ छनोट गरिएका स्वास्थ्य स्वयंसेविकालाई अनिवार्य प्रदान गर्नुपर्ने तालिम दिन सुुरु गरिएको हो। उनले विशेष गरी उनीहरूलाई खोप लगाउने, गर्भजाँच गराउन गर्भवतीलाई उत्प्रेरित गर्ने, सरसफाइसम्बन्धी जनचेतना जोगाउने कार्यसम्बन्धी कुरा तालिमका क्रममा सहजीकरण गरिने बताए।
त्यसैगरी भिटामिन खुवाउने कार्यबारे पनि जानकारी गरिनेछ। गाउँपालिकाका १८ जना स्वयंसेविकालाई तालिम प्रदान गरिएको हो।
तालिमबाट स्वस्थ्य स्वयंसेविकामा उपचार विधिमा प्रभावकारिता आउने विश्वास गरिएको छ। उनीहरूलाई गाउँपालिकाका स्वास्थ्यकर्मीले सहजीकरण गरिरहेका छन्।