माग सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन्नौँः रञ्जिता श्रेष्ठ

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने बताएकी छन्।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहा नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताएकी हुन्।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जाने बताइन्।
आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठले स्पष्ट पारिन्।
उनले भनिन्, ‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन, तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्ने छौँ। सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई समर्थन गरेका छौँ। र, विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना पनि रहेको छ।’