चिसोले लिमीको जनजीवन कष्टकर, तापक्रम माइनस २२ डिग्री

सिमकोट – हिमपात भएपछि हुम्लाको हिमालपारीको गाउँ लिमीमा चिसो अध्यधिक बढेको छ। यतिबेला लिमीको तापक्रम घटेर माइनस २२ डिग्रीसम्म पुगेको छ।

हिउँदमा अधिकांश समय तापक्रम माइनसमा हुने लिमीमा दुई दिन लगातार हिउँ पर्दा तापक्रम माइनस २२ डिग्री पुगेको नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँका छिरिङ तामाङले बताए। दिउँसो घाम लाग्दा तापक्रम केही घटे पनि बिहान र रातिको समयमा अत्यधिक चिसो हुने तामाङको भनाइ छ।

चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ। धारामा पानी जमेको हुँदा आँगनमा हिउँ पगालेर पानीको व्यवस्था गर्नुपरेको स्थानीयको भनाइ छ। चौरीलाई चरनका लागि पनि समस्या भएको छ।

हिमपातपछि लिमी ‘लकडाउन’मा परेजस्तो भएको छ। लिमी जाने दुबै नाका बाक्लो हिमपातले बन्द हुँदा आउजाउ ठप्प भएको छ। लिमीका वडाध्यक्ष पाल्जोर लामाले आफूहरु प्राकृतिक लकडाउनमा परेको बताए।

असोजमा भएको हिमपातपछि न्यालु नाका बन्द हुँदा स्थानीयले नारा नाकाबाट आवतजावत गर्दै आएका थिए। अहिलेको हिमपातले उक्त नाका पनि बन्द भएको छ।

लिमीका स्थानीय बिरामी भएमा हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेको वडाध्यक्ष लामा बताउँछन्। स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सामान्य बिरामी हुँदा पनि लामासँग उपचार गर्नुपर्ने अवस्था रहेको छ।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्