जितु र साम्राज्ञीले खेलाडीसँग फोटो खिचाए, ब्रेकमा नाचे

‘ह्यारीकी प्यारी’ प्रचार गर्न भलिबल प्रतियोगितामा

पोखरा – प्रदर्शनको संघारमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’ युनिट प्रचारप्रसार गर्न यतिबेला मोफसल टुरमा छ। यो फिल्म माघ २० गतेदेखि देशभर प्रदर्शन हुँदै छ।

फिल्म युनिटले दर्शकसँग भेटघाट गर्दै प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ। शनिबार फिल्मका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टिम प्रचारप्रसारका लागि पोखरा आएका छन्।

जितु र साम्राज्ञीसहित फिल्मका निर्देशक डा.कपिल रिजाल, गायक सपनकुमार राईलगायत आएका हुन्। जितु र साम्राज्ञीले पोखरामा सम्पन्न तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको फाइनल खेलमा पुगेर फिल्मको प्रचार पनि गरे।
४ हजार बढी दर्शकले भरिभराउ पोखरा रंगशालाको भलिबल कोर्टमा पुगेर फिल्म युनिटले फिल्म हेर्ने निम्तो बाँडेका छन्। फिल्म युनिट अतिथि बस्ने स्टेजको अग्रभागमा थिए।

पुरुषतर्फको फाइनल खेल हुनुअघि उद्घोषकले फिल्मका अभिनेता जितुलाई केहीबेर दिए। त्यसपछि उनले भलिबल हेर्न आएका दर्शकलाई आफ्नो फिल्म हेर्न आएका हाउसफुल दर्शकको रुपमा अथ्र्र्याउँदै फिल्मको प्रचार गरे। आफू भलिबलको असाध्यै ठूलो प्रशंसक भएको भन्दै खेलाडी र दर्शकलाई फुर्काए पनि। उनले भने, ‘म सिन्धुपाल्चोकको मान्छे, स्कुलमा मज्जैले भलिबल खेलेको मान्छेभन्दा पनि हाँसो उठ्छ होला नि त तपार्इंहरूलाई। यहाँ धेरै खेलाडीलाई भलिबल खेल्न उफ्रिरहन पर्छ सट हान्नका लागि। नेटभन्दा माथि हात पुर्‍याउनै पर्छ, जम्प गर्नपर्छ, उफ्रिनुपर्छ। मैले कहिल्यै जम्प गर्न परेन। जति उफ्रिएनी नभेटिने भएपछि किन उफ्रिरहनुपर्‍यो ?’

नायिका साम्रज्ञी भने धेरै बोलिनन्। उनले भनिन्, ‘धेरै भनिराख्नुपर्दैन जस्तो लायो। हामी हजुरहरूको गेम हेर्न आएको हो। त्यही मौकामा हामीले हजुरहरूलाई आफ्नो मुभि पनि आउँदै छ भनेर सुनाउन आको हो। ह्यारीकी प्यारी, माघ २० गते यही फ्राइडे।’ उनले खेलाडीलाई शुभेच्छा व्यक्त गरिन्।

ह्यारीकी प्यारी टिमले फाइनल खेल सुरु हुनुअघि खेलाडी, प्रशिक्षक, रेफ्रीसँग साक्षात्कार गरे। खेलाडी र अतिथिसँग फोटो खिचाए। खेलको ब्रेकमा फिल्ममा समावेश ‘धरहरा’ बोलको गीतमा जितु र साम्राज्ञीले नाच्दै दर्शकलाई नचाए। फाइनल खेल नसकिँदै ह्यारीकी प्यारी युनिट निस्कियो।

आइतबार बिहान ह्यारीकी प्यारी टिमले पोखरामा पत्रकार सम्मेलन गरेर फिल्मबारे जानकारी दिनेछ। जितु र साम्राज्ञीसँगै फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई लगायतका कलाकारको अभिनय छ। अभिनेत्री रेखा थापा विशेष भूमिकामा छन्।

कमेडी जनराको फिल्ममा सम्झौता गरेर भएको विवाहले निम्ताएको समस्यालाई देखाउन खोजिएको छ। सार्वजनिक भइसकेको फिल्मको ट्रेलरमा वीर्यदानको विषय उठाइएको छ। फिल्मको निर्माता स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल हुन्। फिल्मको छायांकन पर्वतको भुकदेउराली र काठमाडौंमा गरिएको हो।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्