हिन्डेनबर्ग रिसर्च जसले एसियाकै धनी अडानीको साम्राज्य हल्लायो

गाैतम अडानी।

भारतको बढ्दो अर्थतन्त्र अनि अडानी ग्रुपको फैलँदो साम्राज्य। जसले गौतम अडानीलाई विश्वकै धनाड्यको सूचीमा टुप्पोमा पुर्‍याउने आँकलन थियो। उनी ‘अमेरिकन फोरेन्सिक फाइनान्सियल कम्पनी’ का रूपमा रहेको ‘हिन्डेनबर्ग रिसर्च’ले एक अनुसन्धानात्मक रिपोर्ट प्रकाशित नगर्दासम्म विश्वको तेस्रो तथा एसियाको पहिलो धनीमा थिए।

तर हिन्डेनबर्गले दुई वर्ष लामो अनुसन्धानपछि सार्वजनिक गरेको रिपोर्ट प्रकाशित भएको छोटो समयमा नै अडानीको सम्पत्तिमा भारीमात्रामा गिरावट आएको छ। उनी विश्वको तेस्रो धनी व्यक्तिबाट सातौँमा झरिसकेका छन्।

अझै उनको सम्पत्तिको ग्राफ ओरालो लाग्न छाडेको छैन। उनले रिपोर्ट सार्वजनिक भएको दुई दिनमा नै १६ हजार ६०० करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति गुमाए। शुक्रबार, शनिबार र आइतबार थप सेयर कारोबार नहुने भएकाले उनको सम्पत्तिमा कति गिरावट आउँछ भन्ने कुरा अझै अनुमान बाहिर रहेको छ।

‘अडानी ग्रुप: हउ द वर्ल्डस् थर्ड रिचेस्ट म्यान इज पुलिङ द लार्जेस्ट कन इन कर्पोरेट हिस्ट्री’ शीर्षकमा रहेको रिपोर्ट २४ जनवरीमा प्रकाशित भएको थियो।

यो तारिख यसकारण पनि महत्त्वपूर्ण छ कि रिपोर्ट प्रकाशन भएको दुई दिनपछि नै अर्थात् २७ जनवरीमा नै गौतम अडानीको कम्पनीले सेयर बजारमा ‘सेकेन्डरी’ सेयर जारी गर्ने तयारी गरेका थिए। सेयर पनि सानोतिनो थिएन जुन अहिलेसम्मकै सर्वाधिक ठूलो सेयर निष्काषन हुँदै थियो। अर्थात् २० हजार करोड भारतीय रुपैयाँ बराबरको।

तर हिन्डेनबर्गकाे रिसर्च सार्वजनिक भएपछि भारतीय मिडियामा मात्र होइन, विश्वभर अडानी समूहका बारेमा अनेकन आशंकाहरू व्याप्त भए। त्यसको कारण हिडनवर्गले रिसर्च सँगै उठाएका ८८ प्रश्न हुन्। जुन प्रश्न उसले अडानी समूहलाई सोधेको छ। यसमा कतिपय प्रश्नहरू निकै गम्भीर छन्। सिधै अडानी समूहको कर्पोरेट समूहलाई लक्षित गरिएको छ।

रिपोर्ट सार्वजनिक हुनासाथ अडानी समूहमा हल्लीखल्ली मच्चिएको थियो। हेर्दाहेर्दै अडानी समूहको सेयरमा लगानी गर्नेहरूले ठूलो मात्रामा नोक्सानी बेहाेर्नुपर्‍यो।

फोर्ब्स विलिनियर्स इन्डेक्सका अनुसार अडानीकाे नेटवर्थमा १८ प्रतिशतसम्मको गिरावट आयो। जसका कारण उनी विश्वका अर्बपतिको रियल टाइम लिस्टमा धनाड्यको सूचीमा तेस्रोबाट खस्किएर सातौँ स्थानमा पुगे।

अडानी समूहले यो रिपोर्टलाई पूर्णरूपमा निराधार भनेर खण्डन गरेको छ। उसले यो रिपोर्ट प्रकाशन गर्नुअघि कम्पनीसँग कसैले केही नसोधेको जनाएको छ। साथै उनीहरूले फ्याक्टको भेरिफाइड समेत नगरेको दावी गरेका छन्।

के छ रिपोर्टमा?

हिन्डेनबर्गले सार्वजनिक गरेको १०६ पृष्ठ लामो रिपोर्टमा अडानी समूहले कसरी धोखापूर्ण तरिकाले सम्पत्ति आर्जन गरिरहेको छ भनेर उल्लेख गरेको छ। साथै उसले लामो रिपोर्टमा आफ्ना लगानीकर्तामाथि घात गरिरहेको जनाउँदै ८८ वटा प्रश्नहरू सोधेको छ। समग्रमा अडानीले राजनीतिक आडमा ठूलोमात्रामा कर्जा लिएर गरेको लगानी जुनसुकै समयमा ढल्न सक्ने रिपोर्टहरू सार्वजानिक गरेको छ।

उक्त रिपोर्टपछि अडानी समूहले अफवाह र भ्रामक भन्दै खण्डन गरेको छ। हिन्डेनबर्गले भने आफू आफ्नो रिपोर्टमा विश्वस्त रहेको बताएको छ। उसले भनेको छ, ‘अहिलेसम्म अडानी समूहले हामीले उठाएका एउटा पनि प्रश्नको जवाफ दिएको छैन। साथै उनीहरूले हाम्रो अनुमान अनुसार नै धम्कीको बाटो चुनेका छन्।’

उसले २ वर्ष लगाएर ३२ हजार शब्द खर्चिएर १०६ पेज लामो रिपोर्ट सार्वजनिक गरेको भन्दै तथ्यकाे खण्डन गरे आफूहरूलाई स्वीकार्य हुने तर अनुमान गरेर रिपोर्टलाई नै बिना रिसर्चको बताउनु दुखद भएको जनाएकाे छ।

साथै हिन्डेनबर्गले भनेको छ, ‘जहाँसम्म कानुनी कारबाहीकाे धम्की दिएको छ। यसको हामी स्वागत गर्छौँ। हामी हाम्रो रिपोर्टमा पूर्णरूपमा कायम छौँ। हामीविरुद्ध उठाउने भनिएका कानुनी कदम आधारहीन हुने छन्।’

साथै उसले अडानी गम्भीर छन् भने उनले अमेरिकी अदालतमा मुद्दा हाल्न सक्नु पर्ने बताएको छ। हिन्डेनबर्गले भनेको छ, ‘यदि अडानी गम्भीर छन् भने उनले अमेरिकामा मुद्दा दायर गर्नुपर्छ। दस्तावेजको एक लामो लिस्ट छ। कानुनी प्रक्रियासँगै हामी यो चिज उनीसँग माग्ने छौँ।’

हिन्डेनबर्गमाथि पनि केही प्रश्न भने उठेका छन्। उसले आफूले आफूलाई ‘एक्टिभिस्ट शर्ट सेलिङ’ कम्पनीका रूपमा चिनाउँछ। अर्बाैँ रुपैयाँ मुनाफाका लागि उसले यस्तो गरेको त होइन? अर्को उसले रिपोर्ट सार्वजनिक गरेको टाइमिङलाई पनि आधार मानिएको छ। जबकि दुई दिन पछि २० हजार करोडको एफपिओ बजारमा आउँदै छ भन्ने जानकारी भएर त जानीबुझी रिपोर्ट सार्वजनिक गरिएको त हाेइन?

के हो शर्ट सेलिङ

अडानीले आफ्नो सेयर मूल्य घटाएर फाइदा लिनका लागि यो सब प्रपञ्च रचिएकाे बताएका छन्। खास शर्ट सेलिङ भनेको के हो? सर्ट सेलिङ भनेको आफूसँग सेयर नभएर पनि बेच्ने कार्य हो।

खासमा सर्ट सेलरलाई विश्वास हुन्छ कि १०० को सेयर ६० रुपैयाँसम्ममा आउँदैछ। त्यसपछि उसले ब्रोकरसँग सेयर उधारोमा लिएर अर्कोलाई बेच्छ जो १०० रुपैयाँमा खरिद गर्न तयार हुन्छन्। त्यसपछि जब सेयर मूल्य घटेर ६० मा आउँछ त्यसपछि उसले ब्रोकरसँग लिएको उधारो सेयर ६० रुपैयाँमा किनेर फिर्ता गर्छ। जसले गर्दा उसले ठूलो मात्रामा मुनाफा आर्जन गर्छ।

के हो हिन्डेनबर्ग?

कम्पनीको नाम हिन्डेनबर्ग दुर्घटनाबाट राखिएको हो। १९३७ मा भएको हिन्डेनबर्ग दुर्घटनामा ३५ जनाको ज्यान गएको थियो।

हिन्डेनबर्ग एक जर्मन एयर स्पेससिप हो। आगो लागेका कारण यो ध्वस्त भयो। हिन्डेनबर्ग दुर्घटनाको कारण सेयर बजारमा भएको गोलमाल बारे रिपोर्टहरू सार्वजनिक भएका थिए। जसका कारण हिन्डेनबर्गले सेयरबजारमा हुने गडबढीमा सूक्ष्म नजर राख्दै उनीहरूको पोल खोल्नु उद्देश्य भएको बताएको छ।

त्यसो त हिडनबर्गले यसअघि पनि सूक्ष्म रिसर्च गर्दै कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट ल्याएको छ। २०२० पछि ३० कम्पनीकाे रिसर्च रिपोर्ट सार्वजनिक गरेको अर्को दिन नै कम्पनीको १५ प्रतिशतसम्म सेयर मूल्य घटेका छन्। ६ महिनासम्ममा करिब २६ प्रतिशतसम्म सेयर मूल्यमा गिरावट आउने गरेको छ। अडानी समूहको बारेमा रिपोर्ट सार्वजनिक भएको दुई दिनमा नै २५ प्रतिशत सेयरमा गिरावट आएको छ।

माघ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्