चलचित्र पत्रकारिताकाे दुई दिने कार्यशाला सम्पन्न

काठमाडाैँ- चलचित्र पत्रकार संघ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ। शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ शीर्षकमा सञ्चालित कार्यशालामा काठमाडौँ र काठमाडौँ बाहिरका सय बढी पत्रकारले सहभागिता जनाएका थिए।

काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा सञ्चालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, बिकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, बिदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले पत्रकार आचारसंहिता, समाचार लेखनशैली, चलचित्र पत्रकारिताको इतिहास, विश्च सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राइम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्व लगायतका शीर्षकहरूमा कक्षा सञ्चालन भएका थिए।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले कार्यशालाको क्रममा यसको महत्त्वबारे चर्चा गरे।

‘अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्’, उनले भने, ‘यस्ता कार्यशालाले स्वनियमन गर्न मद्दत गर्छ।’

सञ्चारकर्मी, लेखक तथा निर्देशक प्रकाश सायमीले चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताए।

‘कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन्। त्यसैले मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ’, उनले भने।

फोटोपत्रकार विकास रौनियारले चलचित्र पत्रकारितामा फोटोको प्रमुख भूमिका रहने बताउँदै यसका आधारभूत मापदण्डहरू पालना गर्नुपर्ने बताए। छायाँकार विष्णु कल्पितले भिडियोको भाषा र यसको बुझाइबारे प्रष्ट पारेका थिए।

पत्रकार केपी ढुंगानाले पत्रकार हुँ भन्दैमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउँदै गल्ती गर्ने सबैले कारबाहीको भागिदार बन्नुपर्ने बताए।

समापन कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकारहरु चलचित्र क्षेत्रकै महत्त्वपूर्ण अंग रहेको बताउँदै नीतिगत रूपमा नै चलचित्र पत्रकारहरूलाई राज्यले विभिन्न सहयोगहरू गर्ने बताए।

केसीले सत्यतथ्यमा आधारित पत्रकारिता गर्दै चलचित्र क्षेत्रका जटिलतालाई न्यूनीकरण गर्न तथा नेपाली चलचित्रलाई अन्तराष्ट्रियस्तरमा प्रबर्द्धनमा गर्न सहयोग गर्न आग्रह गरे।

माघ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्