सभामुख र उपसभामुखको निवास व्यवस्थापनमा गर्न सकस, घिमिरेले लिए आफन्तको घरमा सहारा

काठमाडौँ– सभामुख र उपसभामुखका सरकारी निवासको व्यवस्थापन गर्न संसद सचिवालय र सरकारलाई सकस परेको छ।

माघ ५ गते सभामुखमा देवराज घिमिरे र ७ गते उपसभामुखमा इन्दिरा रानामगर चयन भएका छन्।

निर्वाचित भएको एक साता बित्न लाग्दासमेत सरकार र सचिवालयले उनीहरुका लागि निवास व्यवस्थापन गर्न नसकेको हो।

भक्तपुरको गठ्ठाघरस्थित भाडाको घरमा बस्दै आएका सभामुख घिमिरे त्यहाँ साँघुरो भएपछि केही दिनदेखि लोकन्थलीमा रहेको आफन्तको घरमा बस्न थालेका छन्। घिमिरेले त्यहाँ सरकारले व्यवस्थापन नगरुञ्जेलका लागि भनेर आश्रय मागेको उनी निकट एक व्यक्तिले जानकारी दिए।

संसद सचिवालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुख त्रिविक्रम पराजुलीले निवासको खोजी जारी रहे पनि टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। उनले भने, ‘सभामुख उपसभामुखको निवास खोजी रहेका छौँ। तर टुंगो लागिसकेको छैन।’

सरकारले सभामुखका लागि तोकेको बालुवाटारको सरकारी निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसिरहेका छन्। तत्कालीन अवस्थामा सभामुखबाट कृष्णबहादुर महरा फौजदारी अभियोग लागेर पदबाट हटेको मौका छोपेर अध्यक्ष तिमिल्सिना सभामुख निवासमा बस्न थालेका थिए।

त्यसपछि सभामुख भएका अग्नि सापकोटाले लैनचौरस्थित सरकारी निवासमा बसेर आफ्नो कार्यकाल पूरा गरे। सापकोटा बसेको उक्त निवासमा सभामुख घिमिरेले बस्न नमानेपछि सरकारलाई निवास व्यवस्थापनमा सकस परेको हो। उनका एक सहयोगीले भने, ‘उहाँ लैनचोर बस्न इच्छुक हुनुहुन्न। अन्त्यै निवासको व्यवस्थापन होस् भन्ने चाहना छ।’

सापकोटा बसेको घरमा घिमिरेले बस्न अस्वीकार गरेपछि उनलाई मुख्यसचिवका लागि बनाइएको बालुवाटारकै भवनमा राख्ने तयारी भए पनि त्यहाँ पनि नमिलेको संसद सचिवालयले जानकारी दियो। भुकम्पछि मुख्यसचिव निवासलाई प्रधानमन्त्री कार्यालयले नै प्रयोग गर्दै आइरहेको छ।

बालुवाटारमा हुने मन्त्रिपरिषदको बैठक कक्षका रुपमा त्यसलाई प्रयोग गरेकाले उक्त भवनमा सभामुखलाई राख्ने प्रयास पनि सफल हुन नसकेको पराजुलीले देश सञ्चारलाई जानकारी दिए। उनले भने, ‘मुख्य सचिव निवासमा मन्त्रिपरिषदको बैठकका लागि प्रयोग गरिँदै आएकाले त्यहाँ पनि तत्काल मिल्ने अवस्था नरहेको पायौँ।’

त्यस्तै उपसभामुख राना मगरको निवासका लागि सरकारी भवनको खोजी पनि तय भएको छैन। सामान्यतया: उपसभामुखलाई पुल्चोकस्थित मन्त्री निवासमा ठाउँ दिने गरिए पनि मगरका लागि तय नभएको सहरी विकास मन्त्रालयको भवन विभागले जानकारी दियो। सभामुख घिमिरे लौनचोर जान नमानेको अवस्थामा उपसभामुख राना मगरलाई त्यहाँ बस्न प्रस्ताव गर्ने तयारी गरिएको छ।

माघ २३ गते चयन हुन लागेको राष्ट्रियसभा उपाध्यक्षका लागि पनि निवास खोज्नुपर्ने जिम्मेवारी भवन विभाग समक्ष छ। काठमाडौँ उपत्यकामा आफ्नो निजी घर नहुनेका लागि संसद सचिवालयले भाडा बापत मासिक १८ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

यदि पदाधिकारीको निवास सरकारले व्यवस्थापन गर्न नसकेकमा घर भाडा बापत उनीहरुलाई मासिक २२ हजारसम्म भुक्तानी सक्ने संसद सचिवालयले जनायो।

माघ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्