भूमि आयोग पर्साले खोज्यो दलहरुको साथ

वीरगञ्ज – राष्ट्रिय भूमि आयोग पर्साले राजनीतिक दलहरुसँग छलफल गरेको छ। छलफलमा दलहरुले आयोगलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

छलफलमा सहभागी एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले भूमि आयोग पनि सुकुम्बासी आयोगजस्तै भएको भ्रम फैलिएकाले जनतालाई आयोगप्रति विश्वास नरहेको बताए। उनले पहिलेको सुकुम्बासी आयोगजस्तो यो आयोग नभएकोले स्थानीय सरकारसँग मिलेर काम गर्न सके वास्तविक भूमिहीनहरुले जग्गा पाउने दाबी गरे।

‘पहिले सरकारले सकुम्बासी आयोग धेरै पटक गठन गरेर काम गर्न सकेको थिएन। त्यही भएर जनता पनि यो आयोगले पनि काम गर्दैन भनेर सोचेका छन्,’ उनले भने, ‘तर त्यस्तो छैन, यो सुकुम्बासी आयोग नभइ भूमि आयोग हो, यसले काम गर्छ भनेर जान्नु पर्‍यो।’

आयोग वैज्ञानिक भएकोले भूमिहीनहरुले भूमि पाउँछन् भन्ने कुरा विश्वास दिलाएर अघि बढ्न सके चाँडै राम्रो नतिजा आउने जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताए।

छलफलमा राजनीतिक दलका नेतालाई हालसम्म भएका प्रगतिहरुको विषयमा जानकारी गराइएको र भूमि आयोगले गर्ने काममा दलहरुको पनि सहयोगको प्रतिबद्धता गराउन छलफल गरिएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए।

आयोगको जिल्ला समितिले अब छिट्टै प्रत्येक पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर स्थानीय तहमा भूमि आयोगले गर्ने काममा समन्वय गर्ने निर्णय गरेको छ।

आयोगले पर्सागढीमा ७८ घरधुरीको प्रक्रिया टुंग्याउन लागेको र उनीहरुलाई चाँडै लालपूर्जासमेत वितरण गर्ने तयारी रहेको अध्यक्ष अहमदले बताए।

माघ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्