हेलामा परेको प्रकृतिको कुचिकार ‘हाइना’

सामन्था हेलेले बाँकेको जंगलमा बाघका लागि राखेको क्यामेरामा देखिएको स्ट्राइप हाइना (धारीदार हाइना)। जसको वैज्ञानिक नाम हाइना हाइना हो। नेपालमा यसलाई हुँडार भनिन्छ।

अमेरिकाको विस्कन्सिन-म्याडिसन विश्वविद्यालयबाट बाघबारे अध्ययन गर्न आएकी सामन्था हेलेले दाङ र बाँकेको राप्ती नदीको छेउछाउ तथा जंगल नजिकका बस्तीमा ३२ वटा क्यामेरा राखिन्। बाघका लागि राखिएको क्यामेरामा उनले नसोचेको हाइना पनि देखिए। अनि उनले आफ्नो इन्ष्टाग्राममा हाइनाको तस्बिर राख्दै लेखिन्:

हाइनाज्? नेपालमा? हो !

हामीले हाम्रो क्यामेरामा स्ट्राइप भएका बाघहरू मात्र  कैद गरेका छैनौँ।

स्ट्राइप हाइना धारीदार हाइना (ह्याना हाइना) नेपालमा अत्यन्त दुर्लभ र लोपोन्मुख छन्। यो अनुमान गरिएको छ कि देशभरि १०० भन्दा कम हाइनाहरु छन्।

यी जनावरहरूलाई क्यामेरामा कैद गर्नु एकदमै गज्जबको खुसी हो!

‘म हाइनाबारे जानकार होइन तर मैले बाघका लागि राखेका अधिकांश क्यामेरामा हाइना परेको छ,’ उनले भनिन्, ‘मैले पूर्ण रुपमा क्यामेरा अध्ययन त गरेको छैन तर १२ वटा जति हाइना मेरो क्यामेरा पेरका छन्।’

बाघमा विद्यावारिधि गरिरहेकी हेले करिब ५ महिनादेखि नेपालमा छिन् र चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका क्षेत्रलाई आधार बनाएर बाघको आनीबानी अध्ययन गरिरहेकी छन्।

नेपालमा स्ट्राइप हाइनाको संख्या यति नै छ भन्ने तथ्याङ्क त छैन तर बढेको अनुमान गरिएको छ। पछिल्लो समय विभिन्न ठाउँमा हाइनाको मुभमेन्ट देखिने गरेको छ, जसको पुष्टि सामन्था हेलेले राखेका क्यामेरामा परेको संख्याले गरेको छ।

नेपालमा कहाँ–कहाँ भेटिएका छन्?


सामन्थाले क्यामेरा राखेको क्षेत्र हाइनाको बसोबासको क्षेत्र हो। नेपालमा बाँके, दाङ, नवलपरासी, चितवन, पर्सा र रौतहटलगायतका जंगलमा हाइनाको बसोबास रहेको वन्यजन्तुविद् दिपेन्द्र अधिकारी बताउँछन्।

२०११ मा गरेको एक अध्ययनले नेपालका २५ जिल्लामा हाइना पाइने देखाएको छ। तर त्यसपछि कुनै अध्ययन नभएकाले हाल कुन–कुन जिल्लामा हाइना अवस्था कस्तो छ? भन्ने जानकारी लिन नसकेको अधिकारीले बताए। उक्त अध्ययनमा नेपालमा हाइना समुन्द्र सतहदेखि १७५० मिटरको उचाइमा रेकर्ड भएको छ। अधिकारीका अनुसार हाइना पश्चिम नेपालको पहाडी जिल्ला जाजरकोटमा पनि भेटिएको थियो।

अधिकारी हाइना पाइने ठाउँलाई नारायणी पूर्व र नारायणी पश्चिम भनेर छुट्याउँछन्। नारायणी पूर्वमा चितवन, बारा, पर्सा र रौतहट पर्छ भने नारायणी पश्चिममा नवलपरासी, दाङ, बाँके पर्छ। उनका अनुसार हाइना नारायणी पश्चिम अर्थात नवलपरासी, दाङ, बाँकेका जंगल छेउछाउका बस्तीमा बढी संख्यामा छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत आशिष गुरुङ पनि यो क्षेत्रमा हाइनाको संख्या बढी रहेको बताउँछन्। नवलपरासीको कावासोती जंगलमा बाघका लागि राखेको क्यामेरामा थुप्रै पटक हाइना परेको उनले बताए।

कति संख्या छ?


सन् २०११ मा प्रकाशन भएको एक अध्ययनअनुसार नेपालमा स्ट्राइप हाइनाको संख्या १०० को हाराहारीमा रहेको अनुमान गरिएको छ। तर त्यसपछि हाइनाकै लागि भनेर कुनै अध्ययन नेपालमा भएको छैन। बाघ वा अन्य जनावरको बारेमा अध्ययन गर्दा हाइनाको आनीबानी थाहा हुने गरेको छ।

अधिकारी नेपालमा हाइनाकै लागि भनेर कुनै खास अध्ययन हुन नसकेको बताउँछन्। उनी भन्छन्, ‘नेपालमा हाइनाको संख्या कति छ, यसको तथ्याङ हामीसँग छैन।’ अन्य जनावरको बारेमा अध्ययन गर्दा हाइनाको संख्या र आनीबानीका बारेमा जानकारी पाइने गरेको उनले बताए।

नेपालमा पाइने हाइना कस्तो हो?  


अधिकारीका अनुसार हाइना झलक्क हेर्दा कुकुरजस्तो देखिन्छ तर हाइनाको टाउको अग्लो र पुच्छरतिरको भाग क्रमशः होचो हुन्छ। यसलाई कुकुर र बिरालोका परिवारभन्दा बेग्लै ‘हाइनिडी’ परिवारमा राखिएको छ। यसका अगाडिका खुट्टा पछाडिका तुलनामा अग्ला र बलिया हुन्छन्। हाइना कराउँदा खित्का छोडेर हाँसेकोजस्तो सुनिने अधिकारीले बताए।

नेपालमा पाइने हाइना ‘स्ट्राइप्ड हाइना’ हो। हाइनालाई लकडबग्गा, हुँडार भन्ने चलन छ। नेपालमा यसलाई लक्करे बाघ, भेडे बाघ, हड्डी बाघ, हाउसे बाघ पनि भनिने गरेको जैविक विविधता विश्लेषक कमल मादेनले एक लेखमा उल्लेख गरेका छन्।

विश्वमा चार प्रकारका हाइना पाइने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत आषिश गुरुङ बताउँछन्। उनी भन्छन्, ‘नेपालमा एक प्रकारको हाइना पाइन्छ, जुन धारीदार हाइना (स्ट्राइप्ड हाइना) हो। जसको शरीरमा कालो धर्सा हुन्छ।’

कस्तो ठाउँमा बस्छ?


अधिकारीका अनुसार यो जनावर नेपालमा चुरे, तराई, घाँसे मैदान तथा खोला छेउछाउ तथा बस्ती आसपासमा बस्न रुचाउँछ। दिनभरी लुकेर बस्ने यो जनावर रात परेपछि आहाराको खोजीमा निस्कने अधिकारी बताउँछन्। हेर्दा ब्वाँसोजस्तो देखिने यो खैरो रंगको जनावर दिनभरी जंगलका ओढारमा आश्रय लिने गरेको संरक्षण कोषका संरक्षण अधिकृत गुरुङले बताए।

नेपालका तराई तथा विशेषगरी चुरे क्षेत्रमा सानातिना प्राकृतिक ओढार पाइन्छन्, त्यसैले यिनीहरु त्यो आसपासमा बढी संख्यामा पाइने गरेको गुरुङ र अधिकारीको अनुमान छ।

प्रकृतिको कुचिकार


यो जनावरले आफै शिकार गर्दैन। अरुले मारेका सिनो खाने गर्छ। त्यसैले वन्यजन्तुविद्हरुले यसलाई प्रकृतिको कुचिकार भन्ने गरेका छन्।

यो एक अवसरवादी जनावर हो। यसले बाघ वा अन्य जनावरले मारेका वा आफै मेरका जनावरहरु खाने गरेको अधिकारी बताउँछन्। यो गाउँबस्ती छेउछाउमा फाल्ने गरेका हड्डी तथा मरेका गाइबस्तु खाने गरेको उनले बताए। त्यसैले यो स्यालजस्तै बस्ती छेउछाउ बस्ने गरेको उनले बताए।

हाइना


विश्वमा चार प्रकारका हाइना छन्, जसमध्ये नेपालमा एक प्रकारको ‘स्ट्राइप्ड हाइना’ पाइन्छ, जसको वैज्ञानिक नाम ‘हाइना हाइना’ हो। यो प्रजाति नेपाल, भारत, पाकिस्तानलगायतका देशमा पाइने गरेको अधिकारीले बताए।

हाइना खाडी मुलुक, मध्य एशिया, भारतीय उपमहाद्वीपदेखि उत्तर अफ्रिकासम्म पाइन्छ। यसको संख्या ८ हजारदेखि १० हजारसम्म रहेको अनुमान छ।

अफ्रिकालगायतका क्षेत्रमा पाइने हाइना प्याक (झुण्ड) मा हिँड्ने गर्छन् तर यो प्रजातिको हाइना आहारका निम्ति रातमा एक्लै घुमफिर गर्ने र घाम झुल्किनुअघि नै बासस्थानमा पसिसक्ने गुरुङ बताउँछन्।

वन्यजन्तुविद् दिपेन्द्र अधिकारीका अनुसार यउटा वयस्क स्ट्राइप्ड हाइना ७०-८० सेन्टिमिटर अग्लो र लम्बाइ १५० सेन्टिमिटरसम्म हुन्छ भने तौल बढीमा ५५ किलोसम्म हुन्छ। यसको तोल २२ देखि ५५ केजिसम्म हुन्छ भने जंगलमा यसको आयु १२ वर्ष र चिडियाखानामा २४ वर्ष हुन्छ।

यो प्रजाति फिमेल डोमिनेट हुने अर्थात भालेभन्दा पोथी शक्तिशाली हुने अधिकारी बताउँछन्। जाडो महिनामा भाले लाग्ने र तीन महिना गर्वधारण गरेपछि एकदेखि पाँच वटासम्म बच्चा जन्माउने सक्ने उनले बताए।

१२ हप्तासम्म आमाले दुध चुसाउने र आमाले नै शिकार गर्न सिकाउने गरेको अधिकारीले बताए। करिब तीन वर्षमा हाइना परिपक्व हुने उनले बताए।

हेपिएको जनावर


शायद धेरैलाई थाहा नै छैन नेपालमा हाइना पाइन्छ भनेर। त्यसैले धेरैले यो प्रकृतिको कुचिकारलाई हेप्ने गरेको वन्यजन्तुविद् अधिकारी बताउँछन्। गाउँबस्ती आसपास पाइने यो जनावर स्थानीयको प्रतिशोधमा मारिने गरेको उनी बताउँछन्।

स्याल तथा ब्वाँसोजस्तै कुखुरा तथा साना जनावर मारेर खायो भन्ने प्रतिशोधमा गाउँलेहरु सिनोमा विष हालेर वा पासोमा पारेर मार्ने गरेको अधिकारी बताउँछन्।

त्यतिमात्र होइन थुप्रै दुर्घटनामा हाइना मारिने गरेका छन्, जसको चर्चा कम हुने गरेको छ। अधिकारी भन्छन्, ‘बाघ मरेको समाचार बन्छ तर हाइना मरेको समाचार बन्दैन किन भने यो कसैको चासोमा परेको छैन।’ सरकारले पनि यसको संरक्षणमा चासो नदिएको उनले बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले हुँडार अर्थात हाइनालाई संरक्षित स्तनधारी प्रणालीमा राखेको छ। त्यस्तै, अन्तराष्ट्रिय प्रकृति संरक्षण संघको सूचीले यो प्रजाति संकटको नजिक र नेपालमा संकटापन्न अवस्थामा रहेको देखाएको छ।

माघ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्