इन्जुरी समयको गोलले पिएसजी बराबरीमा रोकियो

१० खेलाडीमा समेटिएको पेरिस सेन्ट जर्मेइन(पिएसजी) ले फ्रेन्च लिग वानमा १-१ गोलको बराबरी खेलेको छ।
आइतबार राति भएको खेलमा पिएसजीले इन्जुरी समयमा आफ्नो अग्रता जोगाउन नसक्दा रिम्ससँग १-१ गोलको बराबरी खेलेको हो।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी भए पनि खेलको ५१ औँ मिनेटमा नेमारले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।
५९ औँ मिनेटमा मार्को भेराट्टीले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा समेटियो।
जित उन्मुख रहेको पिएसजी इन्जुरी समयमा गोल खान पुगेको थियो। रिम्सका लागि आर्सनलबाट लोनमा आएका फोलारिन बालोगुनले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए।
बराबरीसँगै पीएसजीले २० खेलमा ४८ अंक जोडेको छ। पिएसजी शीर्ष स्थानमा यथावत रहेको छ। रिम्स २६ अंक जोडेर ११ औँ स्थानमा रहेको छ।