सिरहामा ब्राउन सुगरसहित १० जना पक्राउ

जनकपुरधाम- सिरहा प्रहरीले ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा दुई स्थानबाट १० जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। पक्राउ पर्नेमा ९ जना युवा रहेका छन्।

शनिबार साँझ साढे ५ बजेको समयमा सिरहाको नवराजपुर गाउँपालिका २ मझौरा टोलस्थित ओम प्रकाश यादवले आफ्नो घरबाट अवैध लागुऔषध बेचबिखन गरिरहेको सूचना प्रहरीलाई दिएका थिए।

सूचनालगत्तै इलाका प्रहरी कार्यालय, झाँझपट्टी सिरहाबाट खटेको प्रहरी टोलीले घरको खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर २८ ग्राम, लागुऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाइल ८ थान, मोटरसाइकल ४ थान र नगद ४ हजार ८८५ बरामद गरेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रदिप पौडेलले जानकारी दिए।

पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका २ मझौरा टोल बस्ने २३ वर्षीय ओम प्रकाश यादव, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका १२ बस्ने ५१ वर्षीय मदन कुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी रहेका छन्।

यस्तै, लहान ५ बस्ने २७ वर्षीय इरफान हुसेन, लहान १ बस्ने १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका १२ अर्नाह बस्ने २३ वर्षीय रमेश पासमान र २२ वर्षीय सुरेश कुमार पासमान रहेका छन्।

यस्तै, शनिबार नै इलाका प्रहरी कार्यालय, गोलबजार सिरहाबाट खटेको प्रहरी टोलीले गोलबजार नगरपालिका ६ गोलचोकस्थितमा सोही नगरपालिकाको वडा नं. १२ बेतौना हरीपुर बस्ने २७ वर्षीय सुमित कुमार सिंहलाई १ ग्राम १०० मिली ग्राम ब्राउन सुगर, मोबाइल १ थान र नेपाली नक्कली नोट २ हजार बरामद गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

माघ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्