‘फूलबारी’ मा पारिवारिक उतारचढाव

पोखरा- आगामी फागुन ५ गतेबाट प्रर्दशन हुने चलचित्र ‘फूलबारी’ का कलाकार प्रचारप्रसार गर्न पोखरा आएका छन्। प्रचारप्रसार गर्नलाई बुटवल हुँदै देश दौडाहामा निस्किएका चलचित्रका कलाकारले सोमबार पोखरामा पत्रकार भेटघाट गरे।

अभिनेता विपीन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा लगायतको टोलीले पोखरामा भएको पत्रकार सम्मेलनमा सहभागिता जनाएर फिल्मबारे जानकारी दिए।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा विपीन कार्की र अरुणा कार्की मुख्य भूमिकामा छन्। विपिन र अरुणा दम्पतीकाे भूमिकामा देखिएको चलचित्रको ट्रेलरले परिवारको बेमेल र आउने उतारचढावलाई देखाएको छ।

पत्रकार सम्मलेनमा पनि फिल्मका कलाकारले पारिवारिक कथामा तयार भएको बताए। अभिनेता विपीन कार्कीले भने, ‘फिल्म हेर्नेलाई आफ्नै घरको कथा महसुस गराउनेछ। आम नेपालीको व्यथा छ बाहिर जाने यसलाई पनि समेटेको छ।’

हरेक परिवारमा घट्ने साना घटना, सम्बन्धमा आउने उतारचढावहरू फिल्मले देखाउने उनको भनाइ छ।

उनले आफूले चुनौतीपूर्ण चरित्र निभाएको जिकिर गरे। हरिवंश आचार्य, राजेश हमाल नखेलेपछि आफूलाई निर्माण टिमले प्रस्ताव गरेको बताए।

‘च्यालेन्जिङ क्यारेक्टर थियो। रियल एजभन्दा पर गएर गर्नुपर्ने थियो। ट्रेलर सार्वजनिक भएपछि प्रतिकिया लिँदा राम्रो पाइरहेको छु। सबैले सुहाएको छ भन्नुभएको छ’, उनले सुनाए।

नायिका प्रिंयका कार्कीका अनुसार कुन सम्बन्ध कस्तो हुन्छ र कसरी असर गरिरहेको हुन्छ भन्ने परिवेशमा चलचित्र तयार भएको हो।

‘सम्बन्धभित्र बसेका खुशीका कुराहरु, दुखका कुराहरू। तितामिठा कुराहरू सबै समेटेर माया, प्रेम, सम्बन्ध, दुख, सुख, सबै बोकेर परिवारको कथा लिएर अगाडि बढ्छ यो चलचित्र’, उनले भनिन्।

शुक्रबार बुटवलबाट सुरु भएको देश दौडाहा पोखरामा हुँदै चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछ। चलचित्रको टिमले पत्रकार भेटघाटसँगै कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एन्ड ग्रिट लगायतका प्रमोसन गर्ने जनाएको छ।

चलचित्रमा विपीन र अरुणसँगे प्रियंका कार्की, दयाहाङ राई, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल र अनुपम शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

यशोदा फिल्मस्को ब्यानरमा बनेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा, किशोर मलपानीको कथा रहेको छ। अमेरिकी छायाँकार जोस हेरमले फिल्म खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

कथाले मागेपछि पात्रलाई न्याय दिन सक्ने कलाकारमा पर्छन् अभिनेता विपीन कार्की। छड्के, पशुपतिप्रसाद, जात्रा, लुट-२, कालो पोथी, लालपूर्जा लगायतका फिल्ममा उनले निभाएको चरित्रलाई दर्शकले औंधी रुचाएका छन्।

पशुपतिप्रसादको ‘भष्मे डन’ त उनले निभाएको चरित्र सर्वाधिक लोकप्रिय छ। युवापुस्ताको भुमिकामा देखिरहेका विपिन यसपटक ‘बा’ को चरित्रमा दर्शकमाझ आउँदैछन्।

पारिवारिक कथामा निर्माण भएको फिल्म ‘फूलबारी’ मा उनले निभाएको वयोवृद्ध उमेरको भूमिका दर्शकले कत्तिको रुचाउनेछन् त्यो भने फागुन ५ गतेपछि दर्शकले नै बताउनेछन्।

 

माघ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्