देशप्रेम र दोहोरो नागरिकता

प्रसिद्ध गायक जस्टिन बिबर क्यानेडियाली हुन्। क्यानडामा जन्मिएका उनी त्यहाँका जन्मसिद्ध नागरिक हुन्। १५ वर्षदेखि अमेरिकामा बसिरहेका उनी २०१८ देखि अमेरिकी नागरिक पनि भए तर उनलाई क्यानेडियाली भनेर चिनिन्छ, क्यानडा र अमेरिका दुवै देशमा। अमेरिकी नागरिक हुँदा उनले आफ्नो जन्मसिद्ध क्यानेडियाली नागरिकता त्याग्नुपरेको छैन। अमेरिकाको नागरिकता लिए भनेर कुनै क्यानडियनले उनलाई ‘अराष्ट्रिय’ भन्नु त पर, आफ्नो देशको भन्दा गर्व गर्छन्, त्यस्तै अमेरिकामा पनि उनलाई क्यानेडियन भनिन्छ।

‘एक्समेन’ चलचित्रका चर्चित कलाकार ह्युज ज्याक्मनको दोहोरो नागरिकता छ। बेलायती बा–आमाको कोखबाट अस्ट्रेलियाको सिड्नीमा उनको जन्म भएको हो। बेलायती कानुनका कारण उनी बेलायतमा नजन्मिए पनि वंशजका आधारमा बेलायती नागरिक हुन् भने सिड्नीमा जन्मिएका कारण स्वतः अस्ट्रेलियाका नागरिक हुन्। अमेरिकालाई आफ्नो कर्मथलो बनाएका उनले अमेरिकी नागरिकता लिए भने उनले आफ्नो ब्रिटिस वा अस्ट्रेलियन नागरिकता त्याग्नु पर्दैन। आमधारणा उनी अस्ट्रेलियन हुन् भन्ने भए पनि उनले आफूलाई ब्रिटिस भनेर चिनाउँछन्।

कुनै पनि व्यक्तिको पहिचान कुन देशको नागरिकता वा पासपोर्ट लिएको छ भन्नेले तय गर्दैन। न त कुनै अन्य देशको नागरिकता लिँदा मूल देशसँग कम लगाव वा प्रेम भएको पुष्टि हुन्छ। हाम्रै उदितनारायण झालाई माथिको सुविधा प्राप्त भएन । वंशजका आधारमा नेपाली नागरिक उनले नेपाली कला संगीतलाई दिएको योगदान जति तारिफ गरे पनि कम हुन्छ। भारतमा धेरै वर्ष बसेपछि स्वतः उनले भारतीय नागरिकता लिए। तर, त्यसले उनको नेपालप्रतिको योगदान र प्रेमलाई कम गर्दैन। बरु हामीले नै पटक–पटक यो विषय उछालेर उनलाई आफू नेपाली भएको प्रमाण दिन बाध्य परिराख्यौं।

एउटा कार्यक्रममा उनले आफ्नो नागरिकता नै बोकेर ल्याए। त्यो स्तरको कलाकारलाई भारतले सबैभन्दा ठूलो सम्मान ‘पद्मश्री’ दिइरहँदा हामी भने उनले कताको नागरिकता लिए, नेपाली हुन् कि हैनन् भन्नेमै रुमल्लिरहेका छौं। त्यसले हाम्रो हीनग्रस्त मानसिकता देखाउँछ। त्यस्तै, नेपाली तेञ्जिङ नोर्गेले भारतीय नागरिकता लिएको भोलिपल्ट नेपाली रहेनन्।

यसलाई एकछिन ध्यान दिएर सोचौं।

अमेरिकामा नेपाली परिवारमा जन्मिएकी परिजिता बास्तोलाले ‘भोइस’ कार्यक्रममा आफूलाई नेपाली भनेर चिनाइन्, त्यो उनको नेपालप्रतिको प्रेम हो, आफू नेपाली हुनुको गर्वबोध हो। उनले विभिन्न ठाउँमा दिएका कार्यक्रममा नेपाली समुदाय, पहिरन, समुदायबारे मात्र कुरा गरिन्। त्यति गरिरहँदा नेपालका केही राष्ट्रवादका ठेकेदारहरूले उनलाई ‘अमेरिकन’ भनेर उनले नेपाली बोलेको शैलीबारे कमेन्ट गरे। जबकि परिजिताले नेपाल र नेपाली समुदायलाई चिनाउन जति योगदान गरिन्, धेरै कमले मात्र गर्न सक्छ।

त्यस्तै, अर्थर गनले पनि आफू नेपाली भएको कुरा निर्धक्क ‘अमेरिकन आइडोल’ को मञ्चमा उद्घोष गरे। उनले अमेरिकाको कुनै फारम भर्दा पनि आफ्नो वंश, जाति ‘नेपाली’ नै भएको लेख्लान्।

रोजगार र राम्रो भविष्यको खोजीमा अन्य देशमा बसोवास गर्ने नेपालीको संख्या यति नै छ भन्न कठिन छ। देशको नियम–कानुनअनुसार कतिपयले त्यो देशको नागरिकता पनि लिन सक्छन्, त्यो उनीहरूको वैयक्तिक स्वतन्त्रता हो। तर, अर्को देशको नागरिकता लिनेबित्तिकै ठाउँको ठाउँ त्यो व्यक्ति नेपाली अनागरिक बन्नु हुँदैन।

रोजगार र राम्रो भविष्यको खोजीमा अन्य देशमा बसोवास गर्ने नेपालीको संख्या यति नै छ भन्न कठिन छ। देशको नियम–कानुनअनुसार कतिपयले त्यो देशको नागरिकता पनि लिन सक्छन्, त्यो उनीहरूको वैयक्तिक स्वतन्त्रता हो। तर, अर्को देशको नागरिकता लिनेबित्तिकै ठाउँको ठाउँ त्यो व्यक्ति नेपाली अनागरिक बन्नु हुँदैन।

संसारका करिब आधा देशले दोहोरो नागरिकता दिने गर्छन्। बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोन्सन बेलायती बा–आमाको काखमा अमेरिकामा जन्मिएका कारण दुवै देशको नागरिक भए। उनले ५ वर्षको उमेरमा अमेरिका छाडेका थिए, आफ्ना बा–आमासँग। दुवै देशको नागरिकता लिएर उनी बेलायतको सांसद मात्र भएनन्, लन्डनको मेयर र पछि विदेशमन्त्री पनि भए। प्रधानमन्त्री हुने बेलामा भने उनले अमेरिकाको नागरिकता त्यागिसकेका थिए। धेरैजसो विकसित मुलुकले दोहोरो नागरिकता दिन्छन्। दक्षिण एसियामा बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले दोहोरो नागरिकताको सुविधा दिएका छन्। बृहत् छिमेकी मुलुक भारत र चीनले यो सुविधा दिँदैनन् तर त्यसको मुख्य कारण आफ्नै देशमा धेरै जनसंख्या भएर हो। नेपालले भारतको सिको गरेर दोहोरो नागरिकता दिँदैन तर भर्खरै भारतको सिको गरेर ‘एनआरएन नागरिकता’ दिने भनेर संविधानमा लेखिए पनि व्यवहारमा लागू भएको छैन।

दोहोर नागरिकताको कुरा गरिरहँदा यसका फाइदा बेफाइदा केलाउँदा ठीक हुन्छ। जो नेपाली अहिले अमेरिका, युरोप, अस्ट्रेलियामा बसोबास गरिरहेका छन् तिनले सम्बन्धित देशको नागरिकता लिए भने नेपाली कानुनअनुसार नेपालको नागरिकता त्याग्नुपर्ने हुन्छ र देशको मूल नेपालीको जनसंख्या घटेर जान्छ। नेपालको जनसंख्याको वृद्धिदर घट्दो क्रममा छ, प्रक्षेपणअनुसार केही वर्षपछि नेपालको जनसंख्या घट्न थाल्छ। दोहोरो नागरिकता लिएका व्यक्ति पछि फर्किएर नेपाल आउने वा फर्काउने सम्भावना धेरै हुन्छ। राज्यले नै योजना बनाएर तिनलाई नेपालमा फर्काएर नेपालमा बस्न र व्यवसाय गर्न सक्ने वातावरण बनाउनुपर्छ। सीप सिकेका र अर्थ आर्जन गरेको ठूलो तप्कालाई अलग्याएर हैन, मूलधारमा ल्याएर देश विकासमा लगाउनुपर्ने हुन्छ। नागरिकलाई अनागरिक बनाएपछि ती फर्किएर आउने सम्भावना धेरै कम हुन्छ। सबै रवि लामिछानेजस्तै उच्च सोच भएका हुन्छन् भन्ने हुन्न।

उच्च सोच भएको भन्नुको कारण छ, आज पनि हजारौं मानिस कानुनी वा गैरकानुनी तवरले लाखौँ खर्च गरेर अमेरिका छिर्न चाहन्छन्। उनले हुँदाखाँदाको अमेरिकी नागरिकता कानुनी रुपमै त्यागेबाट उनको विशिष्टता देखिन्छ। नेपालको नागरिकता नलिएको कुरा भने नेपाली कानुनप्रतिको सुझबुझको कमी हो। प्रश्न आउन सक्छ, ‘उनले नेपाली नागरिकता किन त्याग गरे नेपालको माया भए?’ उनले नेपालको नागरिकता त्यागेको हैन, नेपाली कानुनको कमजोरीको कारणले त्यागिएजस्तो देखिएको हो। दोहोरो नागरिकताको प्रावधान नभएका कारण उब्जिएको समस्या हो।

दोहोरो नागरिकताको कारण नेपाललाई के घाटा पर्ने रहेछ मैले अहिलेसम्म बुझ्न सकेको छैन। सुरक्षाको समस्या पर्छ भन्ने लाग्न सक्छ कतिपयलाई नेपाल र भारतको खुला सिमानाको कारण। त्यसबारे अनुसन्धान हुनु जरुरी छ। सैद्धान्तिक रूपमा भन्ने हो भने विदेशको सुरक्षामा खटेका नागरिकबाट सुरक्षामा समस्या आउँछ भन्ने लाग्न सक्छ तर लाहुर गएर आएको कसले देशलाई हानि हुने काम गरेको भेटिएको छ? लाहुरमा जाने विभिन्न देशले अहिले त्यहीँ बस्ने व्यवस्था बनाउँदै छ, त्यसबाट पनि नेपालीको संख्या घटेर जाने देखिन्छ।

नेपालको गलत कानुनका कारण देशका नागरिक अनागरिक हुनबाट जोगाउने कानुनबारे बहस गर्न ढिला गर्नु हुँदैन। अर्को कुरा के बुझ्नुपर्छ भने सम्बन्धित देशको नागरिकता लिने धेरैलाई ‘हिँडडुल गर्न सहज हुने भएरै’ हो।

त्यस्तै, कतिपय स्थितिमा आफ्नो काम र जायजेथाका कारण पनि हुन्छ। नेपालको माया नभएर विदेशको नागरिकता लिने मान्छे अहिलेसम्म भेटिएको छैन।

माघ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्