राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः कसैले पनि फिर्ता लिएनन् उम्मेदवारी, तीन जना चुनावी मैदानमा

दाङ – लुम्बिनी प्रदेशमा माघ २५ गते राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुदैछ। यो निर्वाचनमा तीन दलका उम्मेद्वार चुनावी मैदानमा छन। मनोनयन दर्ता गर्दा दुइवटाको मात्रै पर्ने आकलन गरिए पनि नागरिक उन्मुक्ति पार्टिबाट मनोनयन दर्ता भएपछी तीन जना चुनावी मैदानमा होमिएका छन्।

लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। निर्वाचनको लागि माघ ११ गते उम्मेदवारी दर्ता भएको थियो।


सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ। त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ।

एमालेबाट रोल्पा रुन्टीगढी– ५ का कुमार दसौतीले मनोनयन दर्ता गरेका थिए। दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ  छन्।

नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आएका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन्। रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी छन्।

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। उनको प्रस्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन्।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ। निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिएको जानकारी दिए।

उपनिर्वाचनमा सत्ता गठबन्धनबाटै दुईजना उम्मेदवार भएपछि परिणाम आफ्नो पक्षमा आउने कांग्रेसले अपेक्षा गरेको छ। तर, उन्मुक्तिको मतविना पनि सत्ता गठबन्धनको मतभारले एमाले उम्मेदवार दसौदीको जीत निश्चित देखिएको छ।

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिलाई मनाउने एमालेले अन्तिम समयसम्म प्रयास गरेको थियो। तर, उन्मुक्ति सहमत नहुँदा उम्मेदवारी फिर्ता भएन।

राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुखरउपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन्। जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरु रहनेछन्।

माघ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्