यातायात कार्यालय सिरहाबाट चारजना बिचौलिया पक्राउ

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय, लहार, सिरहाबाट चारजना बिचाैलिया पक्राउ परेका छन्।
आइतबार लहान नगरपालिका- ८ स्थित रहेको यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटोछरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र-बाहिर गर्ने, प्रचलित कानुनविपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिक ३ बस्ने ४२ वर्षीय जिवछ ठाकुर, ३२ वर्षीय अनिल कुमार चौधरी, सिरहाको लहान ७ बस्ने ३३ वर्षीय नन्दन खेताङ्ग र नवराजपुर गाउँपालिका १ बस्ने ४१ वर्षीय विष्णुदेव यादव रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।
पटक-पटक जनगुनासो आएपछि इलाका प्रहरी कार्यालय, लहानबाट खटेको प्रहरी टोलीले अनुगमन गर्दा चार जनालाई नियन्त्रणमा लिएको हो।
सिरहा जिल्ला अदालतबाट अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय, लहानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।