बालविवाह गरेर काश्मिर जाँदै गर्दा सीमा क्षेत्रबाट चारजना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम- बालविवाह गरेर भारत जाँदै गरेको अवस्थामा सप्तरीको सीमा क्षेत्रबाट चारजना पक्राउ परेका छन्।

बालविवाह गरेर भारतको काश्मिर जाँदै गर्दा चारजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको जम्बु-काश्मिर घर भएका ४० वर्षीय मो. रफिक खार, २७ वर्षीया नुर जहान, ४१ वर्षीय गुलाब जिलानी र सप्तरीको महदेवा गाउँपालिकाकी १७ वर्षीय युवती रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

गत शुक्रबार सप्तरीको राजगढ गाउँपालिका २ स्थित जम्बु काश्मिरका मो. रफिक खार र नुर जहानले सोही स्थानका गुलाब जिलानीलाई नेपालमा विवाह गराइदिन्छु भनी नेपाल ल्याई महादेवा गाउँपालिका १ बस्ने १७ वर्षीया युवतीसँग विवाह गराएका थिए।

विवाह गराएर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनिया सप्तरीबाट खटेको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताए।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्