लुम्बिनीमा गठबन्धनबाट बाहिरियो नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर।

रुपन्देही- लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग्गिएकाे छ।

यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो।

लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन्। माघ ११ गते उम्मेदवारी दर्ता गराएकाे नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलग्गिएकाे हाे।

नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको स्पष्ट पारेकी छन्।

सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ। त्यस्तै, विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ।

एमालेबाट रोल्पाका कुमार दसौदी, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ‍।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ। निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिएको जनाएका छन्।

राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन्। जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहनेछन्।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्