पाकिस्तानमा आत्माघाती हमलामा मारिनेहरूको संख्या ८७ पुग्यो

तस्बिर स्राेत: बिबिसी।

पाकिस्तानको पेशावर शहरमा सोमबार एक मस्जिदमा आत्माघाती हमलामा परी मर्नेहरूको संख्या ८७ पुगेको छ।

आत्मघाती आक्रमणमा परी १५० बढी घाइते भएका छन्। जसमा ५० भन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ।

मस्जिदमा मारिनेमा अधिकांश प्रहरीहरू रहेका छन्। प्रहरी लाइनमा गएर आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

विष्फोट यति भयानक थियो कि दुई किलोमिटर परसम्म आवाज सुनिएको थियो भने मस्जिदको एक भाग पूर्ण रूपमा नष्ट भएको थियो। इमाम नूर-अल अमीनको पनि मृत्यु भएको जनाइएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीप घटनाको भत्सर्ना गर्दै अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए।

एक प्रत्यक्षदर्शीका अनुसार साँझको नवाजको दौरान मस्जिदमा करिब ५०० जना उपस्थित रहेका थिए। आत्मघाती आक्रमणकारीबीचको एक लाइनमा रहेका थिए। तर उनी पुलिसको लाइनमा पुगेर आफूलाई विष्फोट गराएका थिए।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्युजका अनुसार तहरीक ए तालिबान पाकिस्तान (टिटिपी) ले घटनाको जिम्मेवारी लिएको छ। आर्मीले उक्त इलाकालाई घेराबन्दी गरेको छ। यसको नजिकै आर्मीको समेत एक युनिट रहने गरेको छ। केही समय अघि टिटिपीले हमलाको धम्कीसमेत दिएको जनाइएको छ।

सबै घाइतेको उपचार पेशावर स्थित लेडी हार्डिङ्ग अस्पतालमा भइरहेको छ। अस्पतालको तर्फबाट जारी गरिएको विज्ञप्तिमा आम सर्वसाधारणलाई रगत दान गर्न आग्रह गरिएको छ। अस्पतालमा आर्मीको डक्टरको एक युनिट पनि सक्रिय रहेको छ।

पेशावरमा गत वर्षको मार्चमा एक शिया मस्जिदमा आत्माघाती आक्रमण हुँदा ६२ जनाको मृत्यु भएको थियो। मारिनेहरू सबै शिया समुदायका थिए। यो हमलाको जिम्मा भने इस्लामिक स्टेट खोरासान ग्रुप (आइएस-केपी) ले लिएको थियो। पाकिस्तानमा पछिल्लो समय आत्मघाती विष्फोटहरूमा तीव्रता आइरहेको छ।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्