स्वास्थ्यमन्त्रीको निर्देशनः गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो छ, निगरानी बढाउनूस्

स्वास्थ्यमन्त्री पदम गिरी। फाइल तस्बिर।

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन्।

मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन्।

उनले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए। उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनै पनि बहाना नबनाइ प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे।

उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए। उनले विभागमा ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए।

विभागले चाँडोभन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरु लिएर आउन पनि उनले आग्रह गरे। मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए।

उनले भने, ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरु छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ। तपाईंहरुले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो। पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो। सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ। यसतर्फ हामीले कुनै पनि हिसाबले जनशक्ति छैन वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन।’

मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए। उनले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताए।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्