वैचारिक कम्युनिष्ट पार्टी बनाउन एकीकृत समाजवादीले नेतृत्व गर्छः उपमहासचिव खतिवडा

बुटवल – नेकपा एकीकृत समाजवादीका उपमहासचिव एंव प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताएका छन्। उनले वामशक्ति निर्माणका लागि वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे।

नेकपा एकीकृत समाजवादी रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्युनिष्ट पार्टी निर्माणका लागि वाम ध्रवीकरणका लागि छलफल मात्रै गरिएको बताए। उनले त्यो वैचारिक कम्युनिष्ट पार्टीको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्ने बताए।

वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्युनिष्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको उनको भनाइ छ। उपमहासचिव खतिवडाले नेता भुसाल स्वघोषणा गरेर हालै नेकपा एकीकृत समाजवादीमा आएको र अहिले वामदेव गौतम र भीम रावललाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताए।

उनले आगामि साढे ४ वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई दोधारे भएर नबस्न आग्रह गरे। खतिवडाले आगामि साढे चार वर्षपछि हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचन लड्ने तागतमा हुने बताउँदै दोधारे मन नबनाउन नेता कार्यकर्तालाई आग्रह गरे।

‘आउँदो चुनावमा कसैसँग गठबन्धन पनि नगर्ने गरी पार्टी बनाउँछौँ, त्यसका लागि तीव्र रुपमा संगठन निर्माणमा जुटौँ’ उनको कार्यकर्तालाई अपिल छ।

उनले नयाँ कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नका लागि प्रशक्षिण, छलफल र वैचारिक बहस बढाइने बताए। नागरिकले समस्याबाट मुक्ति पाउन नसकेकाले त्यस्ता समस्याहरुलाई सम्बोधन गर्नका लागि समाजवादीका नेताहरु लाग्नुपर्नेमा उनले जोड दिए।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्