सिंहदरबारबाटै शासनको नेतृत्व गर्छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन्।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाईं हामी सबैसँग छ। यसपटक हामीले उक्त गल्ती दोहोर्याउनु हुँदैन। विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’
‘यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ,’ प्रधानमन्त्रीले प्रचण्डले थपे, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अङ्गहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो। राज्यका सबै अङ्गलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो।’
राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने उनको भनाइ थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारीरूपमा लागू गरिने बताए। उनले भने, ‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीहरूको ऊर्जा र सम्मानलाई जोड दिनेछु। तपाईंहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस्। मैले पनि अभिभावकीय भूमिका खेल्छु। तपाईंहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ। राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ। तपाईंहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस्।’’
निर्णय प्रक्रियामा सरलीकरण गरी छिटो छरितो कार्यसम्पादन गर्न निर्देशित गर्न प्रधानमन्त्री दाहालले अनुरोध गरे।
बैठकमा प्रधानमन्त्री दाहालले देशमा उच्चस्तरीय प्रशासन सुधार आवश्यक भएको बताए। उनले भने, ‘उच्चस्तरीय प्रशासन सुधार कार्यदल बनाउने कुरामा मेरो ध्यान गएको छ। अनावश्यक कार्यालय हटाउने, दोहोरो कार्यबोझ हटाउने, अनावश्यक कर्मचारी र खर्च घटाएर प्रशासनयन्त्र र सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक छ।’
साइबर सुरक्षा कसरी गर्ने, एकीकृत डाटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्नेमा सरकार रहेको उनले बताए। अहिले देश अप्ठ्यारो अवस्थामा रहेको उनको भनाइ थियो।
उनले भने, ‘देश अहिले पनि अप्ठ्यारो अवस्थामै छ। हामीले गम्भीररूपमा काम गरेनौँ र परिणाम दिएनौँ भने राष्ट्रको आवश्यकता सम्बोधन गर्न सक्दैनौँ। यो हाम्रा लागि ठूलो अवसर हो। सबै मिलेर देश बनाऔँ।’ रासस