निहारिका र शिवराजबीच अदालतमा मिलापत्र

तस्बिरः सामाजिक सञ्जाल।

जनकपुरधाम – निहारिका सिंह राजपूत र शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ।

सोमबार जिल्ला अदालत धनुषामा अंशको मुद्दा दिएकोमा मंगलबार सँगै मिलेर बस्ने गरी मिलापत्र भएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए।

जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले निहारिका र शिवराजले सहमति गरेर अदालत पुगेपछि मिलापत्रको आदेश दिएका हुन्।

यसअघि निहारिका भन्ने सोनाली सिंहले शिवराजले जबरजस्ती करणी गरेको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा हालेकी थिइन्।

२०७६ साल कार्तिक ६ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित शिवराज श्रेष्ठले भाडा लिइ बसेको कोठामा कोही नभएको बेला आफूलाई ललाइफकाइ तथा डर धम्की देखाएर पटक–पटक जबरजस्ती करणी गरेको भन्दै निहारिकाले जिल्ला अदालत धनुषामा मुद्दा हालेकी थिइन्। यस मुद्दामा न्यायाधीश परशुराम भट्टराईको इजलासले शिवराजलाई सफाइ दिएको थियो।

न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएपछि सो मुद्दा उच्च अदालत जनकपुरमा पुनरावेदन गरिएको थियो।
उच्च अदालतको आदेशमा शिवराज र निहारिकाको छोराको डीएनए परीक्षण गर्दा मिलेको थियो।

२०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेकोमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ।

२०७६ कात्तिक ६ गते शिवराजले जबरजस्ती करणी गरेको आरोप लगाएकी निहारिकाले २०७७ भदौ ५ गते छोरालाई जन्म दिएकी थिइन्।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्