ट्यांकर चोरी प्रकरणः डिजेल किनबेचमा संलग्न दुई जना पक्राउ

जनकपुरधाम – प्रहरीले ट्यांकरमा लोड रहेको डिजेल चोरी गरेर किनबेच गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ७ का भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार साह र कञ्चनरुप नगरपालिका ९ बस्ने २९ वर्षीय नबराज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
भुजेलले ट्यांकरमा लोड रहेको डिजेल चोरेर साहलाई बेचेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
गत बुधबार नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोबाट को १ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय विराटनगर पठाएकोमा बाटोबाटै ट्यांकर चोरी भएको थियो।
ट्यांकर चालक कञ्चनरुप ९ बस्ने ४५ वर्षीय विनोदकुमार भुजेलले तेल लोड ट्यांकर सोही दिन साँझको करिब ७ बजे कञ्चनरुप ८ स्थित रहेको बि.कि.पम्पमा ट्यांकर पार्किङ्ग गरेर आफ्नो घर गएका थिए। सो ट्यांकर गत आइतबार बिहान करिब ९ बजे शम्भुनाथ नगरपालिका २ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको थियो।
प्रहरी नायव उपरीक्षक सिंहका अनुसार बेवारिसे अवस्थामा ट्यांकर फेला परेको जानकारी पाउनासाथ उक्त स्थानमा प्रहरी पुगेर ट्यांकर चेक जाँच गर्दा ट्यांकरमा रहेको ५ वटा च्याम्बरमा ४ हजार लिटरको दरले २० हजार लिटर डिजेलमध्ये ट्यांकरको ४ वटा च्याम्बर खाली र एउटा च्याम्बरमा डिजेल बाँकी थियो।
नेपाल आयल निगमले सिलबन्दी गरेको उक्त ट्यांकरको सिलबन्दी तोडिएकाले शंकास्पद व्यक्ति तथा पम्पहरुलाई प्रहरी र नेपाल आयल निगम १ नं. प्रदेश प्रादेशिक कार्यालय विराटनगरका कर्मचारीको संयुक्त टोलीले छानबिन तथा चेक जाँच गर्दा नवराज भुजेलसमेतले शनिबार रातको समयमा डिजेल लोड भएको ट्यांकर चोरी गरेर १६ हजार लिटर डिजेल बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ परेका दुबै जनामाथि चोरी मुद्दामा मंगलबार जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान थालेको प्रवक्ता सिंहले जानकारी दिए।