जिप्रका र मालपोत कार्यालय महोत्तरीबाट पाँच जना विचौलिया पक्राउ

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय महोत्तरी र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट पाँच जना विचौलिया पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका ९ बस्ने ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका २ बस्ने ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका १ बस्ने ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका ४ बस्ने ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका १० बस्ने ३८ वर्षीय अमित कुमार मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीले अन्सारीलाई जिल्ला प्रशासन र बाँकी चार जनालाई मालपोत कार्यालबाट नियन्त्रणमा लिएको हो।

मंगलबार गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले पाँचै जनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए।

मालपोत र जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा मागी बार्गेनिङ गर्ने पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरी, जलेश्वरमा उपस्थित गराउँदा सार्वजनिक शान्तिविरूद्धको कसूर मुद्दामा ७ दिनको म्याद थप अनुमती लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्