सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

पोखरा- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ ।
पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए ।
बलात्कारको अभियोग लागेपछि उनलाई गएको भदौ २३ गते निलम्बन गर्ने निर्णय क्यानले गरेको थियो ।
गएको पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका सन्दिपलाई खेलमा फर्काउन क्यानको बहुमत सदस्य सहभागी बैठकले निर्णय गरेको हो ।
सन्दिपको निलम्बन फुकुवा गर्ने निर्णय भएपनि मंगलबार नै महान्यायाधिवक्ता कार्यालयले उनलाई पुर्पक्ष थुनामै राखेर मुद्दामा अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
महान्यायाधिवक्ता कार्यालय पुस २८ गते उच्च अदालत पाटनबाट जारी भएको थुनछेक आदेशविरुद्ध सर्वोच्चमा गएको हो ।
सोमबार क्यानका १६ जना पदाधिकारी सहितको सदस्य बैठक बस्न पोखरा आएका छन् ।
तर, नेपाल टि–२० लिगको स्पट फिक्सिङमा अध्यक्ष चतुरबहादुर चन्दले गल्ती स्विकारेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग सहित ७ सदस्यले बैठक बहिष्कार गरेका छन् ।
मंगलबार साँझपख सुरु भएको बैठकले सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने सहित विभिन्न निर्णय गरेको छ ।
क्यानको निर्णयबारे बुधबार जानकारी गराउने जनाइएको छ ।
विविध १७ एजेन्डा लिएर क्यानको टोली पोखरा आएको हो । ऋषिराम गौतम, छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र संजयराज सिंहले भने बैठक बहिष्कार गरका छन् ।