इन्जो फर्नान्डेज १०७ मिलियन पाउन्डमा चेल्सीमा अनुबन्धन हुने पक्का

चेल्सीले १०७ मिलियन पाउन्ड (१२१ मिलियन युरो) मा बेन्फिकाका अर्जेन्टिनी युवा मिडफिल्डर इन्जो फर्नान्डेजलाई भित्राउने सहमति गरेको छ। यसअघि इंग्लिस प्रिमियर लिग खेल्ने सर्वाधिक मँहगो डिलका रूपमा म्यानचेस्टर सिटीले २०२१ मा ज्याक गार्लिसलाई १०० मिलियन पाउन्डमा क्लबमा अनुबन्धन गरेको थियो।

बेन्फिकाले एक विज्ञप्ति जारी गर्दै फर्नान्डेजलाई चेल्सीलाई बेच्ने कुरामा सहमतिमा पुगेको जनाएको छ। उसले भनेको छ, ‘खेलाडी एन्जो फर्नान्डेजको सबै अधिकारसहित बिक्रीका लागि चेल्सी एफसीसँग एक सम्झौता भएको छ।’

फर्नान्डेज बेन्फिकामा गत अगस्टमा केवल १० मिलियन पाउन्डमा अनुबन्धन भएका थिए। तर विश्वकपमा उनले उम्दा प्रदर्शन गरेपछि उनी युवा खेलाडी घोषित भए। उनको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो।

२२ वर्षीय खेलाडी आएसँगै चेल्सीले जनवरी ट्रान्सफरका लागि कुल २ सय ८८ मिलियन पाउन्ड खर्च गरेको एक ट्रान्सफर वेवसाइट ‘ट्रान्सफरमार्केट’ ले जनाएको छ।

फर्नान्डेजले बेन्फिकामा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट पुगेका थिए। चेल्सीले नोनी मडुएके, म्याकिहिलो मुड्रिक, डेभिड डाट्रो फोफना, एन्ड्री सान्तोस, बेनोइट बादिसिल र मालो गुस्टोलाई जनवरीमा पूर्ण रूपमा अनबन्धन गरेको छ। साथै उसले जाओ फेलिस्कसलाई लोनमा एट्लेटिको म्याड्रिडबाट क्लबमा ल्याएको छ।

चेल्सी जारी सिजन लिगमा २० खेलको समाप्तिमा २८ अङ्क जोडेर १० औँ स्थानमा रहेको छ। उसको शीर्ष चारको सम्भावना कमजोर बनेपछि जनवरी ट्रान्सफर्ममा चेल्सी आक्रामक बनेको हो।

विश्वका महंगो ट्रान्सफर:

नेमार (बार्सिलोना-पिएसजी) २०० मिलियन पाउन्ड, २०१७

केलियन एम्बाप्पे (मोनाको-पिएसजी) १६६ मिलियन पाउन्ड, २०१७

फिलिप काउन्टिन्हो (लिभरपुल-बार्सिलोना) १४२ मिलियन पाउन्ड,२०१८

औसमान डेम्बेले (बौउरुसिया डर्टमुन्ड-बार्सिलोना) १३५ मिलियन पाउन्ड, २०१७

जाओ फेलिक्स (बेनिफिका-एट्लेटिको म्याड्रिड) ११३ मिलियन पाउन्ड, २०१९

एन्टोनी ग्रिजम्यान (एट्लेटिको म्याड्रिड-बार्सिलोना) १०७ मिलियन पाउन्ड, २०१९

इन्जो फर्नान्डेज (बेनिफिका-चेल्सी) १०७ मिलियन पाउन्ड, २०२३

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्