आइक्यानद्वारा दुई दशकमा ८०० बढी सिए उत्पादन

माेरङ- नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले गएको २ दशकमा ८०० बढी सिए उत्पादन गरेको जनाएको छ।

मंगलबार विराटनगरमा आयोजित संस्थाको २६ औँ वार्षिकोत्सवका क्रममा संस्थाले विगत २० वर्षको समयावधिमा ८०६ जना चाटर्ड एकाउन्टेन्ट उत्पादन गरेको जनाएको हो।

सो क्रममा संस्थाका संयोजक सिए अश्विनी बंशलले हालसम्म १ हजार ९७६ जनाले संस्थाको सदस्य हासिल गरेको बताए।

लेखा क्षेत्रलाई संवेदनशील र जोखिमयुक्त रूपमा लिने गरिएको बताउँदै उनले पछिल्लो समय यस क्षेत्रमा आकर्षण बढ्दै गएको प्रस्टाए।

उनले हाल १४ हजारभन्दा बढी विद्यार्थी सिएमा अध्ययनरत रहेको जानकारी दिए।

कार्यक्रममा बंशलले पूर्वाञ्चल विश्वविद्यालयले सिए अध्ययनका लागि पाठ्यक्रम लागू गर्ने तयारीमा रहेको जानकारी दिए।

वार्षिकोत्सवका क्रममा सिएमा अध्ययनरत १२ जना विद्यार्थीलाई ३ वटा विभिन्न विधामा पेपर प्रतियोगिताको आयोजना गरिएको थियो।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा.डिबी क्षेत्री, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय तर्फका डीन डा. बिजु थपलिया लगायतको उपस्थिति रहेको थियो ।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्