लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा

फाइल तस्बिर ।

सिन्धुपाल्चोक ‍‍- सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ।

जुगल गाउँपालिका- २, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्।

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार पुर्जा वितरण गरे। विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा दुई सय नौ परिवार विस्थापित भएका थिए।

तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका- ४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोका अनुसार नयाँ बस्ती विकास गर्ने गरी जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको हो।

आगामी दिनमा बाढी प्रभावित र विस्थापितका लागि आयआर्जन, स्वरोजगार बन्न थप कार्यक्रम ल्याइने उनको भनाइ छ। पीडित ६४ परिवारलाई सेलाङको बाँसखर्क, २७ परिवारलाई बराम्चीको चनौटे तथा ७५ परिवारलाई लिदीको सिमलडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

विस्थापितलाई आवास निर्माणका लागि सरकारले प्रतिपरिवार रु पाँच लाख उपलब्ध गराएको थियो।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्