झोलुङ्गे पुल निर्माणले तुइन विस्थापित

सिमकोट- खार्पुनाथ गाउँपालिका- १ को बोक्चे गौडामा स्थानीय र पैदल यात्रुहरूलाई अब तुइन तर्नुपर्ने बाध्यता हटेको छ।
उक्त स्थानमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सो बाध्यता हटेको हो।
बोक्चे गौडाका होटेल व्यवसायी जयबहादुर सिंहले वर्षौँदेखिको तुइन तर्नु पर्ने बाध्यता अन्त्य भएको बताए।
एक वर्ष लगाएर सो स्थानमा झोलुङ्गे पुल निर्माण भएकाे हाे।
तुइन तर्दा धेरैका हातमा चोट लागेको र केही यात्रु कर्णाली नदीमा खसेर पनि बाँचेको घटना स्मरण गर्दै अब भने पैदलयात्रुहरूले ढुक्कका साथ कर्णाली नदी वारपार गर्ने अवस्था बनेकाे छ।
केही समय अगाडि उक्त स्थानको तुइन तर्दा शुल्कसमेत लग्ने गरिन्थ्यो।
गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले पैदल यात्रुहरूको तुइन तर्नुपर्ने बाध्यतालाई हटाउनका लागि उक्त स्थानमा झोलुुङ्गे पुल निर्माण गरी सञ्चालनमा आएको बताए।
झोलुङ्गे पुल निर्माणले गाउँपालिका- २ र ३ वडाका सात सयभन्दा बढी घरधुरी प्रत्यक्ष लावान्भित भएका छन् भने अन्य पैदल यात्रुका साथ पशुबस्तुलाई समेत सहज भएको छ।
पुलका लागि संघीय सरकारको झोलुङ्गे पुल कार्यक्रमले बजेटको व्यवस्था गरेको हो।